मिस र मिसेस ब्युटिफुल एकै दिन एउटै मञ्चमा



सौन्दर्य प्रतियोगिताका साथमा विभिन्न इभेन्ट आयोजना गर्दै आएको दक्ष इन्टरनेसनल प्रालिले यस वर्ष पनि एकसाथ एकै मञ्चमा विवाहित र अविवाहित महिलाबीच सौन्दर्य प्रतियोगिता गर्ने भएको छ।

आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले आगामी १४ गते शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा अविवाहित युवतीहरुबीच मिस ब्युटिफुल नेपाल २०२२ र विवाहित महिलाबीच मिसेस ब्युटिफुल नेपाल २०२२ नामक दुई स्पर्धा एकै मञ्चमा गरिन लागेको जानकारी गराए।

सातौं संस्करणको मिस ब्युटीफुल नेपाल २०२२ मा राजधानीको विभिन्न स्थानका रञ्जना शाही, अनिता खत्री (निशु), अंशु अर्याल, उषा घिमिरे, गीता प्रसाईं, नम्रता अधिकारी, खुश्बु अग्रवाल, विनिता राणा, माया पाण्डे, उर्मिला, बस्नेत, यस्मीना मल्ल ठकुरी, शिल्पा बजिको र अस्मिता बखरेल अन्तिम स्पर्धाका लागि छनोट भएका छन्।

त्यसैगरी, छैठौं संस्करणको मिसेस ब्युटिफुल नेपाल २०२२ मा रोजिना अधिकारी, इन्दु कुँवर, सुमित्रा बज्राचार्य, सुनीता शाही ठकुरी, कल्पना पासवान र माया श्रेष्ठ (मनिता) बीच अन्तिम स्पर्धा हुनेछ। दुवै प्रतियोगिताका प्रतियोगीहुलाई कोरियोग्राफर रोजिन शाक्यले ग्रुमिङ गरिरहेका छन् भने विभिन्न विधाका विज्ञहरुले तालिम र कक्षा दिइरहेको आयोजक पाण्डेले जानकारी गराए।

प्रतियोगिताअन्तर्गत शनिबार दुवै प्रतियोगिताका प्रतियोगीहुबीच ट्यालेन्ट शो आयोजना गरिएको छ। ट्यालेन्ट शोमा दुवै प्रतियोगिताका प्रतियोगीहरुले गीत, संगीत, नृत्य, अभिनय, वक्तृत्वकला लगायतका आफूमा अन्तर्निहित प्रतिभा प्रस्तुत गरेका थिए।

ट्यालेन्ट शोमा मिसेस ब्युटिफुल नेपाल २०२० उर्मिला पन्त, गायिका तथा मोडल स्मृति पोखरेल, अभिनेता गजित विष्ट र प्रेम पाण्डे, कोरियोग्राफर शम्भु शाही र रमेश शाही निर्णायक रहेका थिए। ट्यालेन्ट शोबाट मिस र मिसेस ट्यालेन्ट छानिने र सोको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने आयोजक पाण्डेले जानकारी गराए। प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्