गायिका गुरुङले बालिका आश्रममा मनाइन् जन्मदिन



गायिका तथा मोडल सुनीता गुरुङले चितवन पुगेर आश्रममा आश्रित बालिकाहरुका साथ आफ्नो जन्मदिन मनाएकी छन्। गायिका गुरुङले चितवनको देवघाटस्थित लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री राम जानकी बालिका आश्रम (कन्याम गुरुकुल) मा आश्रित बालिकाहरुका साथ जन्मदिन मनाएकी हुन्।

सो अवसरमा आश्रममा आश्रित बालिकाहरुले वेद उच्चारण गरी उनलाई थप सफलता र उज्ज्वल जीवनको कामना गरेका थिए। बालिकाहरुले आफैँले हार्मोनियम, तबलालगायतका वाद्यवादन बजाई भजन तथा शुभकामाना गीत गाएर गायिका गुरुङलाई जन्मदिनको शुभकामना दिएका थिए। त्यसैगरी, गायिका गुरुङले उनीहरुको शिक्षा र लत्ता कपडाका लागि वार्षिकरुपमा प्रदान गर्दै आएको एक लाख रुपियाँका साथ १५ बोरा चामल प्रदान गरेकी थिइन्। उनले बालिकाहरुलाई टीका र प्रसादका साथ दक्षिणा प्रदान गरेकी थिइन्।

आश्रममा बाबुआमाको मायाबाट वञ्चित काखे बालिकादेखि विभिन्न उमेरका बालिका आश्रित छन्। गायिका गुरुङले बालिकाहरुलाई सानो सहयोग गर्दा पनि आत्मसन्तुष्टि मिल्ने भएकाले हरेक वर्ष जन्मदिनमा उनीहरुलाई सहयोग गर्दै आएको तथा मिलेसम्म पुग्ने गरेको जानकारी गराइन्। समाजसेवामा रुचाउने गायिका गुरुङले परिवार तथा साथीभाइसहित आश्रमको भवन निर्माणका लागि समेत सहयोग पुर्याएकी छन्। आश्रमको भवन निर्माण जारी छ।

प्रतिक्रिया दिनुहोस्