तथ्यमा आधारित तथ्याङ्कको आधारमा विकासलाई प्राथमिकता दिनुपर्छ : मन्त्री बराल

गण्डकी प्रदेशबाट आर्थिक सर्वेक्षण सुरु

0
Shares

न्युज अफ नेपाल, कास्की ,

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तथ्यमा आधारित तथ्याङ्कको आधारमा विकास निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । सङ्घीय अर्थ मन्त्रालयले आज (आइतबार) पोखरामा आयोजना गरेको आर्थिक सर्वेक्षण २०७८/०७९ को तयारी सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले तथ्यमा आधारित प्राप्त तथ्याङ्कलाई आधार मानेर विकास निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको हो ।

कुनै कार्यालयले तथ्याङ्कलाई रहस्यमय बनाउन नहुने बताउँदै मन्त्री बरालले आफूहरूसँग भएको तथ्याङ्कलाई सार्वजनिक र बहन गर्नुपर्नेमा जोड दिनु भयो । सामाजिक सङ्कीर्णताको कारण केहीले तथ्याङ्क विषय बस्तुलाई रहस्यमय बनाइदिने र सामान्य व्यक्तिहरूले समेत बुझ्न नै नसक्ने, जान्नै नसक्ने अन्यौलता पार्ने प्रचलन भएको उहाँको भनाई थियो । काठमाण्डौं केन्द्रित राज्य प्रणालीको सोच भएकोले गर्दा हाम्रा लक्ष्य र उद्देश्य प्राप्तिमा गम्भीर प्रश्न जन्मेको मन्त्री बरालको भनाई थियो ।

सीमित श्रोत साधनको अधिकतम प्रयोग गर्दै जनताको आवश्यकताहरूलाई समेत प्रथामिकिकरण गर्दै विकास निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकार बिच समन्वय, सहकार्य र सह-अस्तित्व हुनुपर्ने मन्त्री बरालको भनाई थियो । समाजवादको जग स्थापना हुने गरी सत्य तथा तथ्यमा आधारित तथ्याङ्क सङ्कलन तथा सोही अनुरूप कार्यान्वयन गर्न सबै लाग्नु पर्ने मन्त्री बरालको भनाई थियो ।

आउँदो चैत २१ गते भित्र आ—आफ्नो कार्यालयबाट आर्थिक सर्वेक्षणको विवरण सङ्कलन अभियानलाई सफल पार्न समयमै तथ्याङ्क उपलब्ध गराउन प्रादेशिक कार्यालयका पदाधिकारीहरूलाई मन्त्री बरालले आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव कृष्ण प्रसाद शर्माले देशमा ऋण दायित्व बढ्दै गएको कृषिमा शेयर घट्दो रूपमा रहेको चालु खर्च बढ्दो रूपमा रहेको दाबी गर्नु भयो । प्रदेशका प्रमुख सचिव रविलाल पन्थले तथ्याङ्कले जीवनस्तर सुधार हुने गरी कार्यक्रम गर्न सहज हुने बताउनु भयो ।

प्रदेशका प्रमुख सचिव रविलाल पन्थले तथ्याङ्कको उचित प्रयोग गर्न सके पछि परेका व्यक्तिहरूको जीवनस्तर उकास्न सकिने बताउनु भयो । प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष रघुराज काफ्लेले सङ्घीय आर्थिक सर्वेक्षणमा प्रदेशहरुको समेत छुट्टा छुट्टै परिसूचकहरू ल्याउनुपर्ने माग गर्नु भयो ।

अझै पनि बजार केन्द्रित बसाई सराई नरोकिएकोले ग्रामीण क्षेत्रमा विकास निर्माणमा जोड दिनुपर्ने उहाँको भनाई थियो । आयोगका सदस्य माया तिमिल्सिनाले सर्वेक्षणले समावेशी र लैंगिक विकास तर्फ समेत ध्यान दिनुपर्ने धारण व्यक्त गर्नु भयो ।

प्रदेशको अर्थ मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले पहिलो चौमासिकको खर्च गर्ने सिस्टम र अन्तिम चौमासिकको खर्च गर्ने सिस्टम बिच असन्तुलन अझै कायम भएको गुनासो गर्नु भयो । कार्यक्रममा मन्त्रालयका राजश्व सचिव कृष्ण हरी पुस्कर, सहसचिव हिक्मत बहादुर भण्डारी लगायतले बोल्नु भएको थियो ।