शान्ति सन्देश फैल्याउने बौद्ध भिच्छुलाई दुःख नदिनु : मन्त्री आले

0
Shares

विमल  विष्ट, काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्ति सन्देश फैलाउनका लागि बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताउनु भएको छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आज शनिवार भिच्छुद्धारा आयोजना गरिएको विश्व शान्ति प्रणिधान पूजा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले यो देशमा शान्ति आओस् भनेर बोद्ध भिच्छुहरुले सधैँ कामना सहित पूजा आजा गर्नु भएको र बुद्धलाई चिनाउने बौद्ध भिच्छु भएकाले उहाँहरूलाई सबैले सम्मान गर्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतले बुद्ध भारतमा जन्मेका हुन् भनेको थियो तर हाम्रा बौद्ध भिचछुहरुले बुद्ध नेपालमै जन्मिएका हुन भनेर देश विदेशमा प्रचार प्रसार गरेका कारण अहिले भारतले पनि बुद्ध नेपालमै जन्मिएका हुन भन्ने भान भएको छ, यो योगदानका लागि बौद्ध भिच्छु तथा धर्मावलम्बीलाई धन्यवाद दिन चाहन्छु ।”

लुम्बिनीमा पूजाआजाका लागि आउने बौद्ध भिच्छुहरुलाई सुरक्षाकर्मी, आन्तरिक कर्मचारीहरूबाट अभद्र व्यवहार हुने गरेको गुनासो आएपछि मन्त्री आलेले भिच्छुहरुलाई अभद्र व्यवहार नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “शान्तिको देश नेपाल भनेर चिनाउने बौद्ध गुरुहरूलाई अभद्र व्यवहार नहोस्, अभद्र व्यवहार गरेको सह्य हुने छैन, बौद्ध गुरुहरूलाई सम्मान गर्न म निर्देशन दिन्छु ।”

यसै गरी मन्त्री आलेले लुम्बिनी क्षेत्रको विकासका लागि आफूले र मन्त्रालयका तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो । लुम्बिनीको विकास गर्न सके यहाँ हजारौँ, लाखौँ पर्यटकहरू भित्र्याउन सकिने भएकाले यहाँको विकासका लागि कुनै कमी नहुने समेत मन्त्री आलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रेम आले नागरिक प्रति गद्दारी गर्ने छैन, विकास गर्ने छ, गलत गर्नेलाई कुनै हालतमा पनि छोड्ने छैन ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले आफू मन्त्री भएर आएपछि क्यासिनो सञ्चालन गरेर सोयल्टी नतिर्ने विभिन्न क्यासिनो तथा होटलहरुलाई कारवाहि गरेको र वर्षौ सम्म पनि सरकारलाई तिर्न बाँकी राखेको रोयल्टी तिराएको दाबी गर्नुभयो ।