धौलागिरिमै पहिलो पटक सूचना प्रविधि विषय पढाउँदै म्याग्दी क्याम्पस

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

धौलागिरि क्षेत्रमा नै पहिलो पटक हिमाली जिल्ला म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत समय सुहाउँदो प्राविधिक शिक्षाको विषयमा अध्ययन तथा अध्यापन गराउन लागिएको हो ।

साबिक धौलागिरिमै पहिलो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको म्याग्दी क्याम्पसले सूचना तथा प्रविधिको क्षेत्रमा अध्यापन गराउने मौका पाएको छ । प्राविधिक शिक्षाका लागि ठूला सहर तथा विदेशमा जाने चलन बढिरहेको समयमा म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै स्नातक तहमा कम्प्युटर तथा सूचना, प्रविधि अर्थात् (बिआईसिटीई)को विषयमा अध्ययनको अवसर जुराएको हो ।

जिल्लाको विभिन्न विद्यालयहरुमा विज्ञान, गणित, कम्प्युटर जस्ता प्राविधिक विषयहरु पढाउने शिक्षकहरुको अभाव भैरहेको बेला म्याग्दी क्याम्पसले एकै पटक दुई वटा विषयको सम्बन्धन प्राप्त गरेको जनाएको छ । बिआईसिटीई र बिएड साइन्स अध्ययन गर्न प्रवेश परीक्षाको लागि आवेदन खुलाइएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।

सेमेस्टर प्रणालीमा अध्ययन तथा अध्यापन हुने कम्प्युटर प्रविधिको विषयमा ४० प्रतिशत आन्तरिक तथा ६० प्रतिशत लिखित परीक्षा हुने सूचना अधिकारी समेत रहनुभएका सहायक क्याम्पस प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

बिआईसिटीई विषयमा अध्ययन गर्नका लागि यही फागुन १० गतेसम्म प्रवेश परीक्षाको आवेदन दिन सकिने समय तोकिएको छ भने १५ गतेसम्म डबल दस्तुर तिरेर आवेदन दिन सकिन्छ । अहिले प्रवेश परीक्षाको लागि विद्यार्थीहरूले धमाधम फाराम भरिरहेका छन् भने १८ गते प्रवेश परीक्षाको मिति तोकिएको क्याम्पसले जनाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुुङ्गानाले जिल्लाको शैक्षिक विकासका लागि क्याम्पसले सबैको साथ लिएर अगाडि बढ्ने उद्देश्य लिएको बताउँदै शैक्षिक, भौतिक पूर्वाधारको विकास एवं तहगत र विषयगत रूपमा क्याम्पसलाई विकास गर्दै लैजाने योजना सुनाउनुभयो । उहाँले युवाहरूको बढ्दो विदेश पलायनलाई रोक्न, जिल्लामै रोजगारी सिर्जना गर्ने र प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको बताउँदै क्याम्पसको विकासका लागि समितिबाट आवश्यक पहल गरिएको जानकारी दिनुभयो ।

बिआईसिटीई अध्ययनका गर्नका लागि जुनसुकै विषयमा कक्षा १२ उत्तीण गरी न्यूनतम २ दशमलव शून्य १ अर्थात् ‘सी’ जिपिए प्राप्त गरेको विद्यार्थीले आवेदन दिन सक्नेछन् । चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन र अध्यापन गराइनेछ । बिआईसिटीई उत्तीर्ण भएका विद्यार्थीले सरकारी तथा गैरसरकारी संस्थामा आइटी अफिसर, विद्यालयमा आइटी शिक्षक, विद्यालय निरीक्षक, सफ्टवेयर डेभलपरसहित सूचना र सञ्चारको क्षेत्रमा आवश्यक जनशक्तिको व्यवस्थापन तथा क्षमता अभिवृद्धिमा समेत सघाउन सक्नेछन् ।

जिल्लाभित्र आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सघाउने भएकाले सबै स्थानीय तहलाई जानकारीसहित भर्ना अभियानमा साथ दिन समेत अनुरोध गरिएको क्याम्पसले जनाएको छ । भावी दिनमा जिल्लाको आवश्यकता तथा विद्यार्थीको रुचि, क्षमता र करिअरमा मेल खाने पाठ्यक्रम लागू गर्नेगरी योजना बनाइएको छ ।

दुई वर्षअघि विश्वविद्यालय अनुदान आयोगबाट क्युएएको प्रमाणपत्र प्राप्त गरेको क्याम्पसले यसअघि स्नातकोत्तर तहको व्यवस्थापन सङ्कायमा सेमेस्टर तथा यस वर्षदेखि स्नातक तहमा बिआईसिटीई विषयमा सेमेस्टर प्रणाली र बिएडतर्फ वार्षिक प्रणालीअनुसार विज्ञान शिक्षाको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

२०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल दश जोड दुईदेखि स्नातकोत्तर तहसम्म विभिन्न विषयमा पढाई हुँदै आइरहेको छ भने झण्डै १४ सयजना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् ।