दिनभरि चल्ला बेच्ने, राति डकैती

पेस्तोलसहितका मस्टवान्टेड भारतीय डाँका नेपालमा सक्रिय

0
Shares

बाँके ।

भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे ।

चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दा रहेछन् ।चल्ला बेच्ने निहुँमा घर, धनसम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहारले आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको छ ।

बर्दियाको बढैयाताल र बाँकेको खजुरामा सुनसहितको ठूलो धनसम्पत्ति लुटेका मनिहारसहित दुई जनालाई बाँकेको जानकी गाउँपालिकामा लुट्दै गर्दा गाउँलेले समातेर प्रहरीलाई बुझाएपछि भारतीय डाँकाको पर्दाफास भएको हो ।मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलाबजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेको थियो । माघ १७ गते बाँकेको खजुरा गाउँपालिका–४ डिगाउँका हरिप्रकाश विकको घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चोरेको थियो । माघ २९ गते जानकी गाउँपालिका–५ बुढियागाउँका मन्जुर खाँको घरमा डकैती गर्ने बेलामा मनिहार र रूपैडिहाका निजामुद्दिन कवडिया पक्राउ परेका छन् ।

मनिहारले आफूले सात वर्षदेखि बाँके र बर्दियाका विभिन्न गाउँमा पुगेर चल्ला बेच्ने गरेको बताए । मनिहारका अनुसार, रूपैडिहाका अकिल साई, हफिज जोलाह र साजन डकैती धन्दामा सक्रिय रहेका छन् । यो टोली बाँके र बर्दियाको छोटी नाकाबाट १०-११ बजे नेपाल प्रवेश गर्ने र मध्यरातमा डकैती गरेर फरार हुने गर्दथ्यो ।बाँके खजुराको विकको घरमा राति एक बजे लुटपाट गरिएको थियो । हरिप्रकाश विकका अनुसार पछाडिपट्टिको ढोकाबाट भित्र प्रवेश गरेका चार जना डाँकाले शुरूमा छोरालाई नियन्त्रणमा लिएका थिए । अर्को छोरालाई बुबाआमा सुतेको कोठाको ढोका खोल्न लगाएका थिए ।

छोराले मलाई ज्वरो आएको छ ढोका खोल्नु भनेपछि हरिप्रकाशले ढोका खोलेका थिए । ढोका खोल्नेबित्तिकै टोपी र मुख छोपेका व्यक्तिले कन्चटमा पेस्तोल ताकेर पछाडि हात बाँधिदिएका थिए । घरको सबै ठाउँमा खानतलासी गर्दा डाँकाले विकको घरमा एक घण्टा बिताएका थिए । अन्तिममा विकको परिवारलाई एउटा कोठामा थुनेर बाहिरबाट चुकुल लगाएर गएका थिए । विकको खजुरा एक नम्बरमा सुन पसल रहेको छ । विकले त्यो दिन आफूसँग धेरै सुन नरहेको बताउनुभयो ।

बाँके प्रहरीले घटनामा संलग्न अरू भारतीयलाई पक्राउ गर्ने प्रयास गरेको छ । बर्दियामा डकैटी गर्दा ६ जना रहेका थिए भने खजुरामा चार जना थिए । अकिल साई भारतीय प्रहरीको मस्टवान्टेड रहेको मनिहारले बताउनुभयो । मनिहारले अकिल धेरै वर्ष बहराइच जेलमा बसेर छुटेको र फेरि पनि डकैती धन्दामा लागेकाले भारतमा उसका विरुद्धमा आठवटा मुद्दा रहेको जानकारी दिनुभयो ।

बाँके र बर्दिया सीमावर्ती जिल्ला हुन् । खुला सिमानाको फाइदा उठाउन यस्ता अपराधीले मौकाको फाइदा लिने गरेका छन् । यी ६ जना भने पेसेवर डाँका रहेको प्रहरीले बताएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दिनभरि चल्ला बिक्री गर्दै घरघरमा पुगेर रेक्की गर्ने र रातिमा साथीहरू ल्याएर डकैती गर्ने गरेको बताउनुभयो । उहाँले यी पेसेवर डाँकालाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताउनुभयो । यी डाँका टोलीसँग कटुवा पेस्तोल रहेको छ । पेस्तोलको कारोबार गर्ने पनि बुझिएको छ ।