नेपालमा भाषानीति र योजनाको खाँचो



  • रमेश भट्टराई ‘सहृदयी’

नेपाली भाषा साझा सरोकार र सद्भाव कायम राख्ने सबैको विचार सम्प्रेषण गर्ने सम्पर्क सूत्राधार हो । कमसेकम नेपालमा यस भाषाले विश्वव्यापीकृत स्तरलाई ओगटेको छ । यो आम नेपालीको गौरवको विषय पनि हो । यसको अर्थ विदेशीले नेपाली भाषा सिकेर त्यहाँ फैलाएको भन्दा पनि नेपालीहरू विदेशिएका हुन् । वस्तुतः नेपाली भाषाले नेपालका मातृभाषाको विकासमा माउभाषाको काम गर्ने खुबी राख्छ । साम्प्रदायिक पूर्वाग्रह र अफवाह फैलाउने सोचबाहिर बसेर मातृभाषाको रक्षार्थ नेपालीलाई उपयोग गर्नु अपरिहार्य छ । नेपालमा सङ्कटको घेरामा परेका भाषाको जगेर्ना गर्ने विषयमा हातेमालो गर्नु आवश्यक छ ।

कुनै पनि भाषा कुनै जातिका नाममा हुँदैमा त्यो भाषा अरू जातिको होइन भन्नु सङ्कुचित धारणा हो । जस्तो– तामाङ भाषालाई तामाङ जातिले मात्रै जान्नुपर्छ वा प्रयोग गर्नुपर्छ भन्ने हुँदैन । आखिर भाषा त जसले सिक्छ त्यो उसैको हुन्छ । भाषा संरक्षण, संवद्र्धन र विकासका विषयमा आम नेपालीहरूले दायित्वबोध गर्नुपर्छ । सबै भाषालाई समान तहमा राखेर सोच्नु हाम्रो कर्तव्य हो भने भ्रममुक्त हुनु नैतिक दायित्व हो । निश्चित समुदायले प्रयोग गरे संसारका सबै भाषा मानिस मात्रका साझा पहिचान र अस्तित्वका निधि हुन् । एउटा भाषा जन्मिन, हुर्किन र प्रयोगमा आउन लाग्ने समय र मिहिनेतलाई हामी सबैले हेक्का राख्नु अपरिहार्य छ । वस्तुतः सबैले सबै भाषालाई अनमोल मानवीय निधिका रूपमा बोध गर्नु आवश्यक छ । भाषा जीवन्त हुन त्यस भाषाको कथ्य रूप, वर्ण, लिपि, व्याकरण, साहित्य, वाङ्मय आदिको भूमिका हुन्छ । कुनै पनि भाषा संसारबाट लोप हुनु भनेको मानिसको ठूलो र गौरवमय इतिहास मासिनु हो ।

नेपालमा भाषाको कुरामा सचेतनापरक वा जागरणमूलक त्यस्तो ठूलो नीति छैन । जङ्गबहादुर बेलायतबाट फर्केपछि उनले आफ्ना छोराछोरीलाई पढाउन चाहे । वि.सं. १९१० असोज २७ गते उनले दरबार स्कुलको स्थापना गरी अङ्ग्रेजी माध्यममा पढाउने व्यवस्था मिलाए । तर, सो समयमा संस्कृत पाठशालामा संस्कृत तथा गुम्बाहरूमा तिब्बतीयन भाषा पढाइ हुन्थ्यो ।
सो समयमा नेपालमा विद्यालयकै अभाव थियो । यसर्थ ‘डेनियल राइट’ ले नेपालको विद्यालयीय विकासलाई आइसल्यान्डको सर्प मानेका थिए ।

यो इतिहासलाई हेर्दा नेपालमा अङ्ग्रेजी भाषाका लागि त्यतिखेर नै सरकारी प्रबन्ध गरियो । बरु भारतमा अङ्ग्रेजको उपनिवेशको पालामा दबाइएर अङ्ग्रेजी भाषालाई लादिएको इतिहास देख्न सकिन्छ । यथार्थमा राणाकालीन समयमा नेपालमा थुप्रै मातृभाषाहरू सक्षम थिए भन्न सकिन्छ । सर्वसाधारणले आफ्नै भाषामा विनिमय गर्थे तर आजको नयाँ पुस्ताले न मातृभाषा जान्दछ, न त अङ्ग्रेजी अनि न नेपाली नै राम्रोसँग जान्दछ । आज मैथिली समुदायले आफ्ना पुस्तालाई मैथिली सिकाउन अन्कनाउँछ । मगर समुदायको आजको पुस्ताले आफ्नो मगर भाषा नै जान्दैन । यो कुरामा हरेक भाषिक समुदाय सजग रहनु आवश्यक छ । यस सन्दर्भलाई भाषानीति र योजनाका आधारमा व्यवस्थित तुल्याउनु वाञ्छनीय हुन्छ ।

२०१५ सालबाट बल्ल संविधानतः नेपालमा भाषाको कुरालाई छुस्स राखियो । यसअघि भाषाका विषयमा उस्तो ठोस नीतिगत आधार स्पष्ट थिएन । भाषाको विषयलाई प्राथमिकतामा राखेर उस्तो चासो नै नदेखाइएको भाषिक इतिहासका दस्ताबेजलाई नपढी हामी विवाद र बेमेल हुने बेतुकका तर्क गरेर समयलाई बर्बादी गर्नतिर लाग्यौँ भने त्यसबाट प्रभावकारी निकास निस्कँदैन । भाषाका विषयमा अहिले हुने बहसमा स्वच्छताको अभाव देखिन्छ । मूल कुरा भाषा जोगाउनु हो । यसर्थ प्रयोक्ता र राज्यको भाषानीति तथा योजनाले नै भाषालाई जीवित राख्छ । यसतर्फ स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकार सबैले सक्रियता देखाउन सकेको छैन । भाषाको प्रयोग क्षेत्रका बारेमा वस्तुगत आधार तय भएको छैन ।

आमसञ्चारका क्षेत्र, शिक्षासम्बन्धी निकाय तथा सरोकारवालालाई भाषिक सन्दर्भमा बढी जागरुक तुल्याएर देशव्यापी अभियान चलाउनु आवश्यक छ । स्थानीय सरकारले आफ्नो क्षेत्रमा उदाहरणीय काम गरेर देखाउन सक्छ । होर्डिङ बोर्ड, विज्ञापन, सञ्चारमाध्यम, सरकारी तथा अन्य निकायका आधिकारिक चिठी तथा दस्ताबेज सबैतिर भाषिक शुद्धीकरणको अभियान चलाउन सकिन्छ । होर्डिङ बोर्ड (विज्ञापन पार्टी) मा क्रमशः माध्यम भाषा (नेपाली), मातृभाषा (प्रदेश वा स्थानीय) तथा विदेशी भाषा (अङ्ग्रेजी) को प्रयोग गरिनु बढी सान्दर्भिक र औचित्यपूर्ण हुने देखिन्छ । सञ्चारमाध्यमले पनि अनावश्यक अङ्ग्रेजी भाषा मिसाएर वा हिन्दी भाषाका शब्द हालेर नेपाली भाषालाई खिचडी बनाइरहेको देखिन्छ । परिणामतः भाषा बिग्रने र पहिचानमा सङ्कट उत्पन्न हुने भय बढ्दो छ । यो सामान्य कुरा होइन ।

अबको बहुभाषिक नीतिलाई हेर्दा हरेक समुदायमा त्यस भाषाका ज्ञातालाई लिएर मातृभाषिक कार्यक्रम, मातृभाषिक साहित्य सङ्गम तथा बहुभाषिक जमघटको खाँचो छ । नेपालका भाषालाई नेपालीले सिकौँ । नेपाली भाषाले एक–आपसमा भाषिक बोधगम्यतामा सहायता पुर्याउँछ । बहुभाषिकता युद्ध र द्वन्द्वका लागि होइन । बहुभाषिक परिवेश हुनु नेपालका लागि कदापि अभिशाप होइन । यो त छाती ढक्क फुलाएर गर्व गर्नलायक हाम्रो ठूलो वरदान हो । नेपाली भाषाले अरू मातृभाषाका ज्ञानलाई सबै समक्ष बुझाउन र प्रस्तुत गर्न, अनुवाद गर्नमा मद्दत गर्नुपर्छ । भाषा समुदाय र समाजका प्रयोक्ताले जोगाउने हो । हाम्रो समाज मनोविज्ञानमा मगर, तामाङ, गुरुङ आदि मातृभाषीले नेपाली र अङ्ग्रेजी सिकाउन खोजे भने नेपाली मातृभाषीले अङ्ग्रेजी सिकाउन चाहे ।

हाम्रो समाजको भाषिक अवस्था खिचडी भइरहेको छ । आफ्नो भाषा र संस्कृतिलाई जोगाउने कुरामा हरेक समुदाय तथा व्यक्तिसमेत सचेत रहौँ ।

आजको पुस्ताले आफ्नो मातृभाषा जानेर, मातृभाषाका कला र सीपलाई जानेर रोजगार पाउँदैन । त्यसैले विदेशी भाषा सिकेर विदेशिनु उसको बाध्यता बनेको छ । आजको विश्वव्यापीकृत समाजको असरसँगै काम र मामका लागि वर्तमान पुस्ताबाटै भाषिक लोपको खतरा ह्वात्तै बढेको देखिन्छ । यसर्थ सरकार तथा सरोकार निकायद्वारा मातृभाषाको ज्ञान हुने र सिक्न चाहनेका लागि अब प्रोत्साहन गर्दै भाषिक अपनत्वको विकास गर्नुपर्छ । तिनका कला, रैथाने ज्ञान, संस्कृति, भेषभूषा, औषधि विज्ञान, जीवनशैली आदिको विकास गरिनुपर्छ । सबै भाषा र जातिको रक्षार्थ लम्बीय र क्षितिजीय भाषिक नीतिको निर्माण आजको आवश्यकता हो । भाषा जोगाउनु, आफ्नो संस्कृतिको रक्षा गर्नु, आफ्नोपनमा बाँच्नु सबैको अधिकार हो ।

दुःखका साथ भन्नुपर्छ– अहिले अधिकारका कुरा हुन्छन्, अर्कोलाई सकेसम्म र पाएसम्म लाञ्छना लगाइन्छ तर आफ्नो धरातल बिर्सिइरहिएको छ । विश्व समाजका विकसित स्थानमा भाषिक अपनत्वको प्रभावलाई बढाबा दिइरहिएका उदाहरणलाई हेरिइरहँदा हामीचाहिँ आपसमा लड्ने बहाना खोज्नतिर लागेका छौँ । योभन्दा ठूलो मुख्र्याइँ अरू केही होइन । मानवीय धर्म र बहुत्व गुणको गर्वलाई बोध गरौँ ।

सूचना तथा सञ्चारमाध्यममा प्रयोग भइरहेका भाषामा हुने त्रुटि, लापरबाही र बेवास्ताप्रति राज्य जिम्मेवार हुनुपर्छ । भाषा आयोगद्वारा हालै पेस भएका १३१ वटा भाषाको विवरण आइरहे पनि भाषिक गणनामा संस्कृत भाषालाई शास्त्रीय भाषा लेख्ने कि पुर्खाको भाषा लेख्ने भन्ने अन्योल रहेको देखिन्छ । राई भाषीले हाम्रो भाषा र जात एउटै होइन भन्ने तर्क राख्ने गरेको देखिन्छ । नेपालमा कतिपय भाषा र जातिको नाम उही भए पनि त्यसको गाम्भीर्यता र वास्तविकतातर्फ यथार्थ अध्ययन आवश्यक छ । संस्कृत भाषा वास्तवमा शास्त्रीय भाषाका रूपमा सम्मानित छ । वक्ताकै लागि त मातृभाषा पनि हो । पुख्र्यौली भाषा नै लेख्नुपर्छ भन्ने मागलाई भने विश्लेषण गरेर समाधान गर्न कति पुस्तासम्म बोलिएको थियो भन्ने कुराले हेक्का राख्छ । मातृभाषा र दोस्रो भाषाको सन्दर्भमा पनि स्पष्ट आधार हुनुपर्ने देखिन्छ । बोलचालको भाषालाई कुरा गरिरहँदा अर्को दुईभाषी वा बहुभाषीको विवरण पनि हुनु आवश्यक देखिन्छ । यद्यपि, भाषामा राजनीति गरे तथ्याङ्कमा मिथ्याङ्कको प्रभाव विगतमा जसरी नै पर्ने हो कि भन्ने भय छ ।

अन्त्यमा उल्लिखित सन्दर्भभित्र रहेर अनुसन्धानात्मक निकास र साझा चौतारी बनाउने विषयमा विद्वत् तहमा चिन्ता हुन सकेन । कतिपय साम्प्रदायिक वितण्डा मच्चाएर राजनीति गर्नेहरूले एकता र भाइचारामा खलल पुर्याउन खोजेको देखिन्छ । यस्ता भ्रमबाहिर तथ्यपरक, प्रामाणिक र यथार्थ विवरणार्थ नेपालीहरूले सबैले सबैलाई उसै गरी भाइचारा कायम गर्ने भाषिक समताको वातावरण बनाइनु अपरिहार्य छ । केही प्रयास भएका छन् तर राज्यकै स्तरबाट चिन्ता गरेर अन्य विषयलाई जसरी संसद्, सदन र सडकमा चासोको स्थानभित्र समेटिने भनेर सोचिएकै छैनन् । वास्तवमा विकासोन्मुख मुलुकमा भाषाभन्दा ठूला कुरा काम र मामकै हुन्छ, तथापि विकासको एउटा चरण पूरा गरेपछि फेरि मान्छेले अपनत्व खोज्न थाल्छ । तबसम्ममा हामी ढिलो भइसकेको हुनेछौँ । राज्य र विद्वान्हरूको कानुनी सक्रियताले भाषिक अपक्षय रोक्न प्रभावकारी भाषानीति तथा भाषायोजना निर्माण गर्नु अपरिहार्य छ । यो सबै मातृभाषी समुदाय तथा सरोकारको अहम् सवाल पनि हो । आजैबाट अनि अहिल्यैबाट सोचौँ र शुरु गरौँ ।

प्रतिक्रिया दिनुहोस्