सबैसँग माया मोह गाँसेर बिदा भइन् लता

0
Shares

  • रश्मी थापा

फूल भन्छ फूलिरहुँ जुन भन्छ चम्किरहुँ’
मन त भन्छ सबैसँग माया मोह राखिरहुँ’
बाँचुञ्जेलीलाई बाँचुञ्जेलीलाई

केही वर्षअघि ख्यातिप्राप्त भारतीय गायिका लता मंगेशकरले वृद्ध उमेर तथा जवान स्वरमा गायक रामकृष्ण ढकालका साथ गाएकी थिइन् याे गीत। तर, अब उनी सबैसँग माया मोह गाँस्दै यो संसारबाट बिदा भएकी छिन्, संगीत आकाशमा सधैँ चम्किरहने गरी।

गत जनवरी ८ मा कोभिड–१९ संक्रमणपछि अस्पताल भर्ना गरिएकी लताको आइतबार बिहान मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा ९२ वर्षको उमेरमा निधन भयो। बढ्दो उमेरसँगै कोभिडबाट जटिल बन्दै गएको स्वास्थ्य अवस्थाका कारण चिकित्सकको कयाैँ प्रयासका बाबजुद लताले अस्तालको शय्यामै अन्तिम श्वास फेरिन्।

भारतकी ‘स्वर कोकिल’को उपनामले विश्वमाझ ख्याति कमाएकी लताको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको भन्दै शोक व्यक्त गरेका छन्। उनको निधनमा अभिनेता अमिताभ बच्चनलगायत फिल्म, संगीत, राजनीतिकलगायत विभिन्न क्षेत्रका हस्तीका साथै आमव्यक्तिले समेत दुःख व्यक्त गरेका छन्।

मुम्बईस्थित लताको घरमा उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न हजारौं कलाकर्मीलगायत शुभ चिन्तकको भीड लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी उनको अन्तिम संस्कारमा सहभागी हुन मुम्बई पुगेका थिए। उनको शव यात्रामा हजारौं मानिसहरूको सहभागिता थियो। आइतबार नै राजकीय सम्मानका साथ मुम्बईस्थित शिवाजी पार्कमा लताको अन्तिम संस्कार गरिएको हो।

उनको निधनमा भारतमा दुई दिनसम्म आधा झण्डा झुकाएर राष्ट्रिय शोकको घोषणा गरिएको छ। त्यस्तै, पश्चिम बंगालको ममता बनर्जी सरकारले आधा दिन सरकारी छुट्टी दिएको छ।

लता विश्वमै चर्चित

सन् १९२९ मा भारतको मध्यप्रदेशस्थित इन्दोर शहरमा जन्मिएकी लताले पाँच वर्षको उमेरदेखि नै आफ्ना पीता शाष्त्रीय संगीतकार, तथा रंगकर्मी दिनानाथ मंगेसकरसँग संगीत सिक्न थालेकी थिइन्। अत्यन्तै मिठो स्वरमा गाउने लता सानैदेखि विभिन्न नाटकमा गीत गाउने गर्थिन् भने १३ वर्षको उमेरमा ‘किटी हसला’ नामक मराठी फिल्ममा पाश्र्व स्वर दिएकी थिइन्।

पिताको मृत्युपश्चात् मुम्बई बसाइ सरेपछि परिवारका पाँच सन्तानमध्ये सबैभन्दा जेठी लताले आफ्नो परिवारलाई आर्थिक सहयोग गर्नका लागि केही फिल्ममा छोटो भूमिका समेत निर्वाह गरेकी थिइन्। तर, अभिनय उनको रहर भने थिएन। उनले विभिन्न अन्तर्वार्तामा सबैभन्दा बढी खुसी गीत गाउने बेला महसुस गर्ने गरेको बताउने गरेकी थिइन्।

सन् १९४९ मा प्रदर्शन भएको हिन्दी फिल्म महलमा समावेश आएगा आनेवाला बोलको गीत उनको करिअरमा टर्निङ पोइन्ट सावित भएको थियो। जुन उनको करिअरकै पहिलो हिन्दी गीत थियो। त्यसपछिका दिनमा विभिन्न हिन्दी फिल्मका हजारौं गीतमा स्वर दिएकी लता सन् १९५० देखि १९६० को दशकमा हिन्दी फिल्मको पाश्र्व गायनमा एकछत्र राज गर्न सफल भएकी थिइन्।

उनी तेरे विना जिन्दगीसे, जिन्दगी प्यारका गीत हे, सिसा हो या दिल हो, तेरा साथ हेतोलगायत हजाराैँ हिन्दी, नेपाली सहित विश्वका ३६ भाषामा ३० हजार बढी गीतमा स्वर दिएर विश्व चर्चित गायिका बन्न सफल भएकी थिइन्।

प्रेमीका कारण आजीवन अविवाहित

अमर उजालाका अनुसार लताको भारतको डुगंरपुर राज घरानाका राज सिंहसँग प्रेम रहेको भए पनि उनको प्रेम कहानी भने पूरा हुन पाएन। लताको भाइ हृदयनाथ मंगेशकरको साथीसमेत रहेका राजले लतालाई निकै प्रेम गर्थे। तर, राजले आफ्ना माता–पितालाई आफूले आमघरानाको महिलालाई बुहारी नबनाउने बाचा गरेकाले उनीसँग विवाह भने गरेनन्।

राजले अन्य महिलासँग पनि विवाह गरेनन्। त्यही कारण लता र राज जीवनभर अविवाहित रहे। राजले लतालाई प्रेमपूर्वक मिठ्ठु भनेर बोलाउने गर्थे। साथै, उनी सधैँ एक टेप रेकर्डर बोक्ने गर्थे। ताकी लताले गाएका गीतहरू उनले कुनै पनि बेला सुन्न सकून्।

नेपाली गीत

लताले नेपालमा निजी क्षेत्रबाट बनेको पहिलो फिल्म माइतीघरमा समावेश जुन माटोमा मेरो बोलको गीत गाएकी थिइन्। सो फिल्म बिएस थापाको निर्देशनमा बनेको थियो। त्यसपछिका दिनमा विभिन्न फिल्महरूमा गाएकी लताले मबीबी शाह (तत्कालीन राजा महेन्द्र शाह) को शब्द रहेको आकाशमा तिरमिरे तारा म गन्न सक्दिनँ, गायक रामकृष्ण ढकालको साथमा बाचुञ्जेलीलाई लगायतका दर्जनौं फिल्मी तथा गैर फिल्मी गीतमा आप्mनो मखमली स्वर दिएर नेपाली दर्शकमाझ पनि ख्याति कमाएकी थिइन्।

सम्मानमाथि सम्मान

लताले सन् १९६९ मा आफ्नो असाधारण एवं विशिष्ट सेवाका लागि भारतीय नागरिकले प्राप्त गर्ने तेस्रो ठूूलो राष्ट्रिय पुरस्कार ‘पद्म भूषण’ प्राप्त गरेकी थिइन् भने सन् १९९९ मा दोस्रो ठूलो पुरस्कार ‘पद्म विभूषण’ तथा सन् २००१ मा सबैभन्दा उच्च सम्मान ‘भारत रत्न’ प्राप्त गरेकी थिइन्।

त्यसपछिका दिनमा ‘दादा साहेब फाल्के’लगायत भारतको प्रसिद्ध पुरस्कार प्राप्त गरेकी थिइन भने सन् २००७ मा फ्रान्सको सर्वोच्च नागरिक पुरस्कार लीजन अफ अनरबाट सम्मानित भएकी थिइन्।

परिवार नै संगीतमा

लताको परिवारको संगीतसँग पुरानो नाता थियो। लताका पिता शाष्त्रीय संगीतकार थिए। यही कारण पनि लतालगायत उनका अन्य चार भाइ बहिनीमा संगीतको जन्मजात गुण थियो। लताको चार बहिनीहरू मीना खाडिलकर, आशा भोसले, उषा मंगेशकर तथा भाइ हृदयनाथ मंगेसकर पनि गायनमा आबद्ध थिए।

तर, लतापछि संगीत क्षेत्रमा सबैभन्दा बढी ख्याति भने बहिनी आशा भोसलेले मात्र कमाएकी थिइन्। लतापछि आशाले पनि संगीत क्षेत्रमा सफलता हासिल गर्दै गर्दा लतामाथि आफ्नी बहिनी आशाको संगीत क्षेत्रमा चर्चा र सफलता कमाएको हेर्न नचाहेको भन्ने आरोप लागेको थियो।

आफ्नी बहिनी आशाको सफलतादेखि लतालाई ईर्ष्या लागेको र आशा र लताबीच राम्रो सम्बन्ध नरहेको भन्ने हल्ला संगीत क्षेत्रमा चलिरहेको बेला लताकी अर्की गायिका बहिनी मीनाले यसको सफाइ दिँदै लता आफ्नी बहिनीको सफलतादेखि जल्ने संस्कारको नभएको र मानिसहरूले दुई बहिनीबीच फाटो ल्याउनका लागि यस्तो हल्ला चलाएको बताएकी थिइन्।
(एजेन्सीको सहयोगमा)