ललितपुरमा भेटियो खाल्डोमा गाडिएको अवस्थामा शव

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । घरको किनारमा खाल्डो खनेर पुरिएको अवस्थामा तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बुको शव फेला परेको हो । उक्त घर अनिलले मासिक ३० हजार रुपैयाँमा भाडामा लिएका थिए ।

गत माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको थियो । यससँगै एउटै समूहले मोरङमा दुई जना र ललितपुरमा एक जनालाई मारेको निष्कर्ष प्रहरीले निकालेको छ ।

उखुबारीमा शव फेला परेको घटनाको अनुसन्धानका क्रममा काठमाडौंबाट १ जना पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपीसहितको टोली काठमाडौं आएको थियो ।

मोरङ प्रहरीको टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले धापाखेलमा एउटा घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला पारेको हो । मोरङमा फेला परेको शव काठमाडौं बस्दै आएका शम्भु चौधरी र भक्तपुर घर भइ धरान बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो । जग्गा कारोबारी उनीहरुबीच समस्या परेपछि हत्या गरिएको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।