श्रोत केन्द्रका रेन्बोट्राउट बेच्न बजार अभाव 


रामधन राई, खोटाङ । 

माघ–१८, रेम्बो ट्राउट माछा श्रोतकेन्द्रमा विकास गर्ने गरी १६ लाख दश हजार लगानीमा सामूहिक रूपमा ट्राउट पालन सुरु गरेका खोटाङका किसानलाई बजार अभाव भएको छ ।

रेम्बो ट्राउट, भुरा तथा दाना उत्पादन गरी आर्थिक आयआर्जन गर्ने लक्ष्यले साकेला गाउँपालिका–३ खिदिमास्थित तावाहाङ रेम्बो ट्राउट कृषक समूहले माछा उत्पादन गरी बिक्री सुरु गरे पनि बजार अभाव भएको जनाएको हो । स्थानीय यपोसी खोलाको पानी प्रयोग गरेर सुरु गरिएको रेम्बो ट्राउट माछाप्रति केजी १ हजार ५ सयका दरले विक्री सुरु गरिएको हो । १९ वटा पोखरी र फिल्टर ट्याङ्क निर्माण गरीगत वर्षको चैत्र ६ गते १५ हजार भुरा हालिएको थियो ।

यो लटमा करिब ७ सय केजी माछा विक्रीका लागि तयार भए पनि बजारको समस्या हुने बुझिएको कृषक समूहका हेलन राईले बताउनुभयो । स्थानीयले रेन्बो ट्राउट कस्तो जातको माछा हो भन्ने नबुझेर महँगो भन्ने गरेको राईको भनाई छ । राईका अनुसार केही समयपछि फिसिङ तथा अर्डर अनुसार पोखरी स्थलमै पकाएर उपलब्ध गराइने समूहको तयारी छ ।

गाउँपालिकामा कृषि समुह दर्ता गरी सुरु गरिएको फर्ममा आन्तरिक तथा बाह्य पर्यटक अध्ययन र भ्रमणका लागि भित्र्याउनका साथै कृषि पर्यटनको विकास गर्ने योजना बनाइएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईको भनाई छ । उक्त माछा पालनका लागि आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश सरकार अन्तरगतको मत्स्य विकास निर्देशनालयको २५ लाख, वडा कार्यालयको ५ लाख, गाउँपालिकाको ४ लाख र तावाहाङ रेम्बो ट्राउट कृषक समूहको १६ लाख १० हजार लगानी भएको छ ।

बिस्तारै आन्तरिक तथा बाह्यय पर्यटकहरू फर्म हेर्न तथा घुम्न आउन थालेकाले बजार पाउने कृषक समूहको अपेक्षा छ । पर्यटकीय स्थल तावा भञ्ज्याङ, तथा मुन्दुम पदमार्ग नजिकै रहेकाले पनि रेम्बो ट्राउट फर्ममार्फत कृषि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले सुनाउनुभयो ।