तोरी फूलेपछि पर्यटकको आकर्षण बढ्यो

0
Shares

म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले तोरी फुलेपछि पहेँलै भएको छ । बेनी–बागलुुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरका खेत र बारीमा तोरी फूलेर पहेँलै भएको छ भने गहुँ तथा केराउले हरियाली छाएको हो । खेत, बारीमा लगाएको तोरी फुलेर रत्नेचौर गाउँ नै पहेँलपुर बनेको छ । तोरीले पहेँलै तथा गहुँ र केराउले हरियाली छाएपछि रत्नेचौर निकै सुन्दर, आकर्षक र मनमोहक देखिएको छ । रत्नेचौरबाट संसारको सातौं अग्लो ८ हजार १ सय ६७ मिटर उचाइको चुचुरो धौलागिरी हिमाल देखिन्छ । तोरी फूलेर पहेँलै बनेको रत्नेचौरका खेतको बीचमा रहेको सडकमा कालोपत्रे गरिएपछि देखिएको चिल्लो सडकले थप आकर्षण थपेको छ ।

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली हुँदै बराङ्जा पुग्ने सडकखण्डको १ हजार ८ सय मिटर सडकमा सांसद भूपेन्द्रबहादुर थापाको पहलमा भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक वर्ष २०७५/०७६ को चार करोडको बजेटबाट कालोपत्रे र ढलान गरिएको छ । अहिले तोरी फूलेर पहेँलपुर बनेपछि रत्नेचौरको तोरी बारीमा पुगेर फोटो, भिडियो खिच्ने र रमाउने युवायुवतीको भीड बढ्दै गएको छ । म्याग्दीको विभिन्न स्थानसहित बागलुङको कुँडुले, उपल्लाचौर, पर्वतको धाईरिङ, मिलनचोकलगायत ठाउँबाट पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् ।

बिदाको दिन र शनिबारको दिनमा धेरै पर्यटकहरू तोरी बारीमा फोटो खिच्न र रमाउन आउने गरेको रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । उहाँले फराकिलो र सम्म परेको फाँट, रत्नेचौर–कुडुँले जोड्ने निर्माणाधीन झोलुङ्गे पुल, खुलाचौर, खाने, बस्ने ठाउँ तथा पहेँलपुर तोरी फुलेका कारण धेरै पर्यटकहरू रत्नेचौरमा घुम्न आउने गरेको जानकारी दिनुभयो । रत्नेचौरको तोरी बारीमा बिदाको दिन र शनिबार झण्डै २ सयजना पर्यटकहरू आउने गरेको स्थानीयबासी बताउँछन् ।

समुन्द्री सतहदेखि ७ सय ९२ मिटरको उचाइमा अवस्थित रत्नेचौरको फाँटमा तोरी फूलेपछि स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरू रत्नेचौर पुगेर तोरी बारीमा रमाउने गरेका छन् । उनीहरू त्यहाँ पुगेर फोटो, भिडियो र सेल्फी खिच्ने तथा टिकटक बनाउने गर्दछन् । तोरी फूलेको हुँदा कालोपत्रे गरेको चिल्लो सडकसमेत ‘भाइरल रोड’ बनेको छ । वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धौलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रबद्र्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको छ ।

तोरी फूलेर पहेँलै भएपछि साथीहरूसँग रत्नेचौरको भ्रमण गर्न पाउँदा आफूलाई आनन्दको अनुभूति मिलेको आन्तरिक पर्यटक जमुना आचार्यले अनुभव सुनाउनुभयो । रत्नेचौर पुगेका पर्यटकले फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट्याउने र टिकटकमा भिडियो बनाएपछि तोरीबारी तथा पिचरोडसहित रत्नेचौरको गाउँ पनि भाइरल बनेको छ । रत्नेचौरमा पछिल्लोपटक स्वदेशी पर्यटकहरूको चहलपहल बढेको वडाध्यक्ष रावलले बताउनुभयो । सडक कालोपत्रे गरिएपछि चिल्लो सडक र पहेँलै फूलेको तोरीका कारणले गर्दा दृश्यावलोकन गर्नका लागि पनि रमाइलो हुने भएपछि पर्यटकहरू रत्नेचौरमा आउन थालेको उहाँको भनाइ छ ।

रत्नेचौरमा पहिलेदेखि नै तोरी उत्पादन हुँदै आएको थियो । मौरीपालन तथा मह उत्पादनका लागि उपयुक्त मानिने तोरीको सागलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिन्छ । ग्रामीण भेगमा फुलेको तोरीले गाउँको सुन्दरतामा निखार ल्याउने गरेको छ ।