जनसंख्याभन्दा मतदाता धेरै

0
Shares

काभ्रे ।

जिल्लाको विकट मानिने चौंरीदेउराली, भुम्लु र तेमाल गाउँपालिकामा जनसंख्याभन्दा मतदाता धेरै भएको तथ्याङ्क सार्वजनिक भएको छ । अन्य केही पालिकामा जनसंख्या र मतदाताको संख्या झिनो अंकले फरक देखिएको छ । जनगणनामाथि प्रश्न उठिरहेका बेला जनगणनाको भन्दा र मतदाताको संख्या धेरै देखिएको हो ।

बुधबार सार्वजनिक भएको प्रारम्भिक नतिजाअनुसार तीनवटा पालिकामा कायम भएको जनसख्ंयाभन्दा धेरै जिल्ला निर्वाचन कार्यालय काभ्रेको मतदाता नामावलीमा १८ वर्ष पुगेका फोटोसहितको विवरणमा समावेश भएका नागरिकको संख्या धेरै देखिएको हो । चांैरीदेउराली गाउँपालिकामा २०७८ को जनसंख्यामा १४ हजार १ सय ६ रहेको छ । २०६८ मा २० हजार ८ सय ९२ रहेको थियो । २०७४ को निर्वाचनमा १४ हजार ५ सय ३९ मतदाता रहेका थिए । २०७८ पुस मसान्तसम्म जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा फोटोसहितको नाम समावेश गर्ने १८ वर्षमाथिका १९ हजार ७ सय ५१ जना छन् । जनसंख्या र मतदाताबीचको अन्तर ५ हजार ६ सय ४५ रहेको छ ।

१८ वर्षमाथिका नागरिकको तथ्याङ्कमा यति धेरै फरक छ भने त्योभन्दा कम उमेरको जनसंख्याको हिसाब नै देखिँदैन । तथ्याङ्क कार्यालयले मतदाता र जनगणना फरक विषय भएकाले अक्सर बसोबासमा गणना भएको बताएको छ । ‘अक्सर बसोबास गर्ने सबैको गणना भएको छ, मतदाता नामावलीमा जहाँ भए पनि गणनामा छुटेको छैन’ –तथ्याङ्क अधिकृत दीपक कोइरालाले भन्नुभयो ।

काभ्रेपलाञ्चोक जिल्लाका चौंरीदेउराली, भुम्लु र तेमाल गाउँपालिकामा जनसंख्याभन्दा धेरै मतदाताको संख्या रहेको छ । नमोबुद्ध र बेथान्चोकमा मतदाता र जनसंख्यामा थोरै फरक छ । बनेपामा मतदाता र जनसंख्याबीच ३० हजार २ सय ५२ को अन्तर छ ।

त्यस्तै, भुम्लु गाउँपालिकामा २०७८ सालको जनसंख्या १५ हजार ५ सय ८५ रहेको छ । मतदाता संख्या २०७८ पुस मसान्तसम्म १६ हजार ५ सय ३८ रहेको छ । १८ वर्षमाथिका नागरिकको संख्याभन्दा जनसंख्या ६ सय ८० ले कम देखिन्छ । त्यस्तै तेमाल गाउँपालिकाको २०७८ सालको जनसंख्या १५ हजार ८ सय ५८ रहेको छ । २०७८ पुस मसान्तसम्म १८ वर्षभन्दा माथिका नागरिकको मतदाता नामावलीमा फोटो खिचाउनेहरूको संख्या २० हजार ८ सय ८७ रहेको छ । जनसंख्याभन्दा मतदाताको संख्या ३ हजार ९ सय २८ ले धेरै छ ।
नमोबुद्ध नगरपालिकामा मतदाताभन्दा जनसंख्या ४ सय ८३ ले धेरै छ । नमोबुद्धमा २०७८ मा २६ हजार २ सय ८० जनसंख्या रहेको छ भने मतदाता २०७८ पुस मसान्तसम्म २५ हजार ७ सय ९७ रहेको छ । बेथान्चोक गाउँपालिकामा पनि नमोबुद्ध जस्तै मतदाताको भन्दा ५ सय ३६ ले जनसंख्या धेरै छ । १४ हजार ९ सय ९६ जनसंख्या देखिएको बेथान्चोकमा मतदाता १४ हजार ४ सय ६० कायम भएका छन् ।

पुस मसान्तसम्मको तथ्याङ्कमा १८ वर्ष माथिकाले मतदाता सूचीमा नाम लेखाएका छन् । खानीखोला गाउँपालिकामा मतदाताभन्दा २ हजार ४२ जनसंख्या धेरै छ । पाँचखालमा मतदाताभन्दा ६ हजार २ सय ७१ ले जनसंख्या धेरै छ । मण्डनदेउपुरमा ३ हजार ६७ मात्रै जनसंख्या धेरै देखिन्छ । महाभारतमा ३ हजार ८ सय ८५ को फरक छ । रोशीमा १ सय ३३ जनसंख्या मतदाताभन्दा फरक छ ।

जनसंख्याका आधारमा बनेपामा कम मतदाताले नामावली भरेको देखिन्छ । १२ हजार जनसंख्या थपिँदा २०७४ को निर्वाचनबाट २०७८ पुस मसान्तसम्म ७ हजार मात्रै मतदाता थपिएका छन् । जनसंख्या भने धेरै थपिएको छ । बनेपामा मतदाता र जनसंख्याको अन्तर ३० हजार २ सय ५२ रहेको छ । पनौतीमा १४ हजार १ सय २७ मतदाता कम छन् भने धुलिखेलमा १० हजार ५ सय ७४ मतदाता कम छन् ।

मतदाता र जनसंख्याबीचको फरकपनाका बारेमा तथ्याङ्क कार्यालय काभ्रेका प्रमुख दीपक कोइरालाले अनुपस्थित जनसंख्यामा गणना भएको हुन सक्ने बताउनुभयो । ‘कोही व्यक्ति बनेपामा बसोबास गरेर तेमालमा मतदाता भएको हुन सक्छ तर उहाँको गणना बनेपामा भएको हुनुपर्छ’, तथ्याङ्क अधिकृत कोइरालाले भन्नुभयो– ‘बनेपामा जनसंख्या र मतदाताको अन्तर धेरै देखिनु त्यही कारण हुन सक्छ । प्रारम्भिक नतिजाका आधारमा थप केही भन्न सकिन्न ।’