जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा

0
Shares

लमजुङ ।

जिल्ला अस्पताल लमजुङले टेलिमेडिसिन सेवा प्रवाह गर्ने भएको छ । अस्पताल आउने बिरामीको सेवा प्रवाहलाई गुणस्तरीय बनाउन विशेषज्ञसहितको टेलिमेडिसिन सेवा शुरु गर्न लागेको हो । जिल्ला अस्पतालले पहिलो चरणमा छालासम्बन्धी समस्या भएका बिरामीहरुका लागि आगामी फागुनभित्रै टेलिमेडिसिन सेवा सञ्चालनको तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष मदन रानाले बताउनुभयो । छालासम्बन्धी टेलिमेडिसिन उपचार सेवाका लागि काठमाडौंस्थित डी स्किन हेल्थ एन्ड रिफरल सेन्टरसँग प्रारम्भिक छलफल अघि बढेको उहाँका भनाइ छ । गत बिहीबार मात्रै पहिलो चरणमा दुई पक्षबीच प्रारम्भिक छलफल भएको र निकट भविष्यमा सेवा शुरु गर्ने भएको छ ।

उहाँका अनुसार टेलिमेडिसिन सेवाका लागि आवश्यक उपकरण र व्यवस्थापन जिल्ला अस्पतालले गर्ने र डी स्किन हेल्थ एन्ड रिफरल सेन्टरका तर्फबाट विज्ञ चिकित्सक उपलब्ध गराउने तयारी भएको छ । टेलिमेडिसिन सेवा भने दैनिक गर्ने वा साप्ताहिक गर्ने भन्ने विषयमा अझै टुंगो नलागेको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।टेलिमेडिसिन सेवाका लागि अस्पतालले आवश्यक उपकरण लागि आवश्यक कक्षसहित इन्टरनेट, हाइरेजुलेसन क्यामेरा, मनिटरलगायतको व्यवस्थापनको तयारी भएको श्रेष्ठले बताउनुभयो ।

अस्पतालमा आएका बिरामीको सहजताका लागि अस्पतालले न्यूनतम खर्चमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित टेलिमेडिसिन सेवा शुरु गर्न लागेको हो । पहिलो चरणमा छाला रोगसम्बन्धी उपचारका लागि फागुन महिनाभित्रै टेलिमेडिसिन सेवा शुरु गर्ने र त्यसपछि अन्य अस्पतालहरुसँग पनि सम्झौता गरी थप रोगहरुको उपचारका लागि सेवा–सुविधा उपलब्ध गराउने अस्पतालको तयारी छ । अस्पतालकै संयोजनमा जिल्ला अस्पतालसहित जिल्लाका अन्य पालिकाहरुमा पनि टेलिमेडिसिन सेवा विस्तार गर्ने अस्पतालको योजना रहेको अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो ।

गण्डकी प्रदेश सरकार मातहतमा रहेको जिल्ला अस्पताल मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा सञ्चालनमा रहेको छ । जिल्ला सदरमुकाम बेंसीशहरमा रहेको यस अस्पतालले लमजुङलगायत वरपरका छिमेकी जिल्लाहरु तनहुँ, गोरखा र मनाङका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यस अस्पतालले आफ्नो सेवालाई समान रूपमा पहुँचबिहीन समुदायसम्म पुर्याउने लक्ष्य राखेको छ ।

नेपाल सरकारको स्वामित्वमा १५ शैय्यामा रहेको जिल्ला अस्पताल २०५८ सालमा मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापन जिम्मा लिई सामुदायिक अस्पतालका रूपमा सञ्चालनमा आएको थियो । संघीयता कार्यान्वयनसँगै गत वर्ष मात्रै सो अस्पताल प्रदेश सरकारको मातहतमा गएको हो ।