पारासिटामोलको अभाव छिट्टै हट्ने औषधि कम्पनीको दाबी



काठमाडौं ।

कोभिड–१९ को आधारभूत उपचारार्थ प्रयोग हुने पारसिटामोल(पाँच सय एमजी) को बजार अभाव छिट्टै हट्ने नेपाल औषधि लिमिटेडले दाबी गरेको छ । हाल दैनिक कम्पनीले दैनिक ३ लाख ट्याबलेट पारासिटामोल उत्पादन गरिरहेको र थप कच्चा पदार्थ आयातको क्रममा रहेको नेपाल औषधि लिमिटेडले बताएको छ । पारासिटामोल उत्पादनका लागि जनशक्ति, उत्पादन सामग्री लगायत सम्पूर्ण स्रोतसाधन प्रयोग भइरहेको, उत्पादन हुनासाथ बजार पठाउने गरिएको र सरकारबाट आवश्यक सहयोग तथा निर्देशन प्राप्त भइरहेको नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टिकाराम आर्यलले बताउनुभयो ।

उहाँका अनुसार निजी क्षेत्रले समेत घाटा सहेरै भए पनि पारासिटामोल उत्पादन गरिरहेकाले केही दिनमा सबैतिर पारासिटामोल प्राप्त गर्न सकिने छ । पारासिटामोल लाभ लागत बिन्दु (व्रेक इभन प्वाईन्ट) भन्दा मुनि रहेर उत्पादन गर्नु परेको उहाँले बताउनुभयो । तर, पारासिटामोल उत्पादनमा के कति नोक्सान बेहोर्नु परेको छ भन्ने कुरा खुलासा गर्न भएन । ‘लागत नभनौं, नोक्सान बेहोरिएको, यति बुझौं ।’ सूचना अधिकारी अर्यालले भन्नुभयो । कच्चा पदार्थको गुणस्तरका आधारमा पारासिटामोलको फरक फरक फरक हुन सक्ने पर्न सक्ने उहाँले धारणा थियो ।

कम्पनीका महाप्रबन्धक साइफुल्लाले नेपाल औषधि लिमिटेडसँग करिब १० ब्याचका लागि कच्चा पदार्थको मौज्दात रहेको बताउनभयो । एक ब्याचमा ३ लाख २० हजार ट्याबलेट उत्पादन हुने, सो अनुरूप १०–१२ दिनमा ३० लाख ट्याबलेट पारासिटामोल उत्पादन हुने, ‘ड्राइङ गर्न करिब ६ देखि ८ घण्टा लाग्ने र तत्पश्चात प्याकेजिङ, लेबलिङ गरी बजारमा पठाउन सकिने उहाँले जानकारी दिनुभयो । हाल नेपाल औषधि लिमिटेडले सिटामोल, जीवनजल, सेनिटाइजर, गिल्सिरिन लगायतका औषधि उत्पादन गर्दै आइरहेकोमा सिटामोलको अधिकांश बजारको माग कम्पनीले धान्दै आएको छ ।

निजी क्षेत्र भने पारासिटामोल उत्पादनमा नोक्सान रहेको र मूल्य आफैंले निर्धारण गर्न पाउनुपर्ने भन्दै उत्पादन गर्न उदासीन देखिएका छन् । हाल २६ वटा निजी क्षेत्रका औषधि उद्योगले औषधि व्यावस्था विभागबाट पारासिटामोल उत्पादन गर्ने अनुमति लिएकोमा ती कम्पनीले प्रतिट्यबलेट ३० पैसासम्म घाटा रहेको भन्दै लाइसेन्स जोगाउनका लागि मात्रै औषधि उत्पादन गर्दै आएको बताइएको छ ।

नेपालमा प्रतिट्याबलेट १ रुपियाँमा बिक्री गर्नुपर्ने पारासिटामोल भारतलगायत मुलुकहरूमा दुई रुपियाँ बिक्री हुँदै आएकाले मूल्य समायोजनको माग निजी क्षेत्रले गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पारासिटामोल उत्पादनका लागि सरकारी कम्पनीलाई अनुदान दिने बताउँदै आएका छन् । तर, अनुदान प्राप्त भइनसकेको र प्रकृयामा रहेको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पारासिटामोलका लागि आवश्यक पर्ने कच्चा पदार्थ भारत तथा चीनबाट आयात हुने गर्दछ भने ती मुलुकमा कच्चा पदार्थको अभाव रहेको छैन ।

बजारमा पारासिटामोल अभाव हुन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उत्पादक कम्पनीमा कच्चा पदार्थको मौज्दात, वितरण संकलनको काम भइरहेको जनाएको छ । पारासिटामोल उत्पादन गर्न आवश्यक कच्चा पदार्थ मौज्दात, उत्पादन वितरणको अवस्था र बिक्री वितरण निरन्तर निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्