थापाको नेतृत्वमा काँग्रेस स्याङ्जाको पहिलो बैठक

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

नेपाली काँग्रेस स्याङ्जाको १४ औं जिल्ला अधिबेशनबाट सभापतिमा निर्वाचित संविधानसभा सदस्य राजु थापाको नेतृत्वमा जिल्ला समितिको पहिलो बैंठक सम्पन्न भएको छ । काँग्रेस पार्टीमा सम्पन्न बैंठकले महत्वपूर्ण ६ वटा निर्णय गरेको छ । बैंठकको पहिलो निर्णय निर्वतमान कार्यसमिति र निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ ।

दोस्रो निर्णय भने पार्टीका बैंठकहरुलाई नियमित बनाउने निर्णय भएको काँग्रेस स्याङ्जाका सभापति राजु थापाले जानकारी दिनुभयो । सभापति थापाले दिएको जानकारी अनुसार जिल्ला कार्यसमितिको बैंठक प्रत्येक महिनाको ३ गते, क्षेत्रिय कार्यसमितिको ८ गते, प्रदेश कार्यसमितिको १३ गते, पालिकाहरुको १८ गते र वडा कार्यसमितिको बैंठक २३ गते गर्ने निर्णय भएको छ ।

थापाको नेतृत्वको कार्यसमितिले जिल्लाभर प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । काँग्रेस स्याङ्जाका नेता तथा महाधिबेशन प्रतिनिधि भरतप्रसाद लम्सालले दिएको जानकारी अनुसार पार्टी विधानको परिच्छेद १२ को दफा ६५ अनुसार सभापतिमा प्रतिस्पर्धी प्रदेश सांसद काँग्रेस नेता भागवतप्रकाश मल्ललाई जिल्ला कार्यसमितिको सदस्य बनाईएको छ ।

पार्टीको संगठन सुदृढीकरण गर्दै जिल्लाभर नेपाली काँग्रेस संगठन विस्तार प्राथमिकतामा राख्ने समेत निर्णय भएको छ । बैंठकमा जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको जिल्ला पार्टी कार्यालय मर्मत र थप संरचना समेत बनाउने निर्णय भएको नेता लम्सालले जानकारी दिनुभयो ।

विगत लामो समयदेखि अव्यवस्थित बन्दै आएको काँग्रेसको लेबि संकलन कार्यलाई व्यवस्थित बनाउन आन्तरिक तयारी थालेको छ । जिल्लास्थित सबै राजनीतिक दलसँग आपसी सहकार्य गर्दै जान भनेको काँग्रेस स्याङ्जाले सरकारी तथा गैरसरकारी संस्थासँग हातेमालो गर्दै जनसेवामा लाग्ने लक्ष्य लिएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन जिल्लाभरिबाट उत्साहपूर्वक सदरमुकाम आएका नेता, कार्यकर्ताहरुलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गर्नुभएको छ ।

सभापति थापाले भन्नुभयो, “यो महाधिवेशनमा कांग्रेसका कार्यकर्तामा देखिएको ऊर्जालाई आगामी निर्वाचनसम्म लानुपर्छ र कांग्रेसलाई बहुमतप्राप्त पार्टी बनाउने कार्यमा तपाईँहरु सबै लाग्नुपर्छ ।”उहाँले भन्नुभयो, प्रतिस्पर्धामा हुने जित हारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता राख्नु हुँदैन ।

जित्नेले पनि हार्नेलाई समेट्नुपर्छ, हार्नेले पनि सहयोग गर्नुपर्छ, यसलाई प्रजातान्त्रिक प्रक्रियाका रुपमा लिनुपर्छ, कुनै पनि प्रकारको कटुता, मनोमालिन्य राख्नु हुँदैन, असहिष्णु बन्नु हुँदैन ।