साझा हस्पिटलमा हेमोडायलासिस, एनआईसीयू तथा युरो सर्जरी सेवा शुभारम्भ 


यमलाल भुसाल, बुटवल । 

बुटवलमा रहेको साझा हस्पिटल प्रा.लि.ले नयाँ सेवा आरम्भ गरेको छ ।सोमवार पत्रकार सम्मेलन गरी अस्पतालले हेमो डायलासिस, एनआईसी यू तथा युरो सर्जरी सेवा शुभारम्भ गरेको जनाएको हो ।

मिर्गौलाका बिरामीहरू दिनप्रतिदिन बढिरहेको परिस्थितिमा बिरामीहरूको चापलाई मध्य नजर गरी उनीहरूलाई सुलभ उपचारको व्यवस्था गर्ने लक्ष्य सहित हेमोडायलासिस सेवा प्रारम्भ गरेको साझा अस्पतालका अध्यक्ष गोविन्द खनालले बताउनु भयो । छोटो समयमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी सबैको विश्वास जितेको साझा हस्पिटलले नियमित डायलिसिस गराउनुपर्ने विरामीहरुले सर्वसुलभ सेवा पाउन नसक्दा अस्पताल बाहिर जानुपर्ने जसले गर्दा बिरामीहरूलाई उच्च आर्थिक व्ययभार पर्ने र असुविधा हुने गरेकोले सेवा थप गरिएको अध्यक्ष खनालले बताउनु भयो ।

यसका साथै अस्पतालले नवजात शिशु सघन उपचार केन्द्र  (एनआईसीयू) अति कम रहेकाले निकै समस्या भएको बताउँदै नवजात शिशुहरूको लागि जटिल उपचारका लागि एनआईसी यू सेवा प्रारम्भ गरेको बाल रोग विशेषज्ञ डा. विनोद पराजुलीले बताउनु भयो ।अत्याधुनिक मेशिनहरू जडित यस एनआईसीयू सेवाले नवजात शिशुहरूको स्वास्थ्य उपचारमा महत्त्वपूर्ण योगदान पु-याउने विश्वास डा. पराजुलीले बताउनु भयो ।

पछिल्लो समयमा मिर्गौला सम्बन्धी समस्या बढ्दै गएकाले दैनिक आहार विहार तथा जीवनशैलीका कारण बिग्रदै गएको मानव स्वास्थ्यमा सुधार गर्न,रोग लाग्नबाट बचाउन, जनचेतना एवं जनजागरण अभियान चलाउनु पर्नेमा अस्पतालले जोड दिएको छ ।हाल ८ वटा मेशिनबाट सुरु गरिएको र निकट भविष्यमै ५० वटा मेसिन पु-याई लुम्बिनी प्रदेशकै ठुलो र नमुना डायलिसिस सेन्टर बनाउने योजना रहेको अध्यक्ष खनालले पत्रकार सम्मेलनमा बताउनु भयो ।

साझा हस्पिटलमा आईसी यू सेवा अर्थोपेडिक तथा ट्रमा सर्जरी सेवा, न्यूरो सर्जरी सेवा जनरल तथा ल्यापरोस्कोपी सेवा,पेडियाट्रिक सर्जरी सेवा, इएन्टी सर्जरी सेवा, मेडिसिन सेवा, प्रसुति सेवा, युरो सर्जरी, रेडियोग्राफी सेवा,चौबिसै घण्टा इमर्जेन्सी सेवा लगायतका विशेषज्ञ सेवाका साथै निसन्तान दम्पतीका लागि टेस्ट ट्युब बेबी सेवाहरू यस अघिदेखि नै सञ्चालनमा रहेका छन् ।