भूमि आयोगमा दामोदर अधिकारी नियुक्त


लमजुङ, (नेस) । 

भूमि आयोग लमजुङको अध्यक्षमा दामोदर अधिकारी नियुक्त हुनुभएको छ । सरकारले भूमि आयोगमा अध्यक्ष लगायतका पदाधिकारी नियुक्ति गरेसँगै लमजुङमा नेपाली कांग्रेसका नेता अधिकारीलाई नियुक्त गरेको हो ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले जिल्लाहरुमा भूमि आयोगको अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको थियो । नियुक्ति पाउनुभएका सुन्दरबजार–२ धुसेनीका अधिकारी नेपाली कांग्रेसका पुराना नेता हुनुहुन्छ । आयोगलाई सुकुम्बासी र अव्यवस्थित बसोबासी गर्नेको तथ्यांक संकलन गर्ने र उनीहरुलाई लालपुर्जा वितरण गर्ने जिम्मेवारी दिइएको छ ।

आयोगमा अध्यक्षसहित दुई जना विज्ञ सदस्य रहने प्रावधान रहेको छ ।यसअघि सुकुम्बासीको अवस्था अध्ययन गर्दै लालपुर्जा प्रदान गर्नका लागि भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश–२०७६ बमोजिम तत्कालीन सरकारले सुकुम्बासी आयोगको गठन गरेको थियो । तर, सरकार फेरिएसँगै ०७८ साउन १९ गते सो आयोग खारेज भयो । सो आयोग नै खारेज भएसँगै एक जनाले पनि लालपुर्जा नपाइकनै सुकुम्बासीका नाममा १३ लाखभन्दा बढी खर्च भएको थियो ।

यसअघि जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि काम शुरु भएसँगै १२ सयभन्दा बढी निवेदन परेका थिए । आयोगले अव्यवस्थित बसोबास भएका, भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी तीन प्रकृतिको लगत संकलन गरेको छ । जसमध्ये ७ सय ९६ अव्यवस्थित बसोबासी, २ सय ५३ वटा भूमिहीन दलित र १ सय ९६ भूमिहीन सुकुम्बासीसम्बन्धी लगत संकलन भएको आयोगसम्बन्धी जिल्ला कार्यालय लमजुङले जनाएको छ ।