प्राकृतिक चिकित्साबाट नयाँ जीवन


भूपराज बस्याल, नवलपुर ।

नवलपुर जिल्लास्थित रजहर बजारबाट १० मिनेटको पैदल यात्रापछि एउटा झुपडी आउँछ जहाँ प्रायः सधैं सयभन्दा बढी मान्छेको भीड देखिन्छ । उनीहरू सबै नयाँ जीवन पाउने आशामा त्यहाँ भेला भएका हुन्छन् ।

झुपडीलाई ‘अस्पताल’ नाम दिइएको छ । तर, जताबाट हेर्दा पनि त्यो अस्पताल वा चिकित्सालय लाग्दैन । तर, यहाँबाट सयौं बिरामी स्वस्थ भएर घर फर्केको हजारौं व्यक्तिको विरण हेरेपछि भने यस झुपडीप्रति बढी नै रुचि जाग्छ ।नवलपुर जिल्ला देवचुलीनगरपालिका–१६ रजहरमा २०६७ सालमा स्थापना भएको सामुदायिक प्राकृतिक चिकित्सालयले माटो, पानीलगायत प्राकृतिक वस्तुबाट मानिसको उपचार गर्दछ ।

सबै प्रकारका रोगको सफल उपचार गर्ने दाबी गर्दै आएको उक्त चिकित्सालयले कोभिडमा बिरामीलाई निःशुल्क उपचार गरी शतप्रतिशत सफल रिजल्ट दिन सफल भएको जनाएको छ । विश्वले नियन्त्रण गर्न नसकेको कोभिडको समयमा उपचार गर्न उक्त अस्पताल पुगेका ७ सय ८५ बिरामीलाई उपचारपछि निको बनाएर घर फर्कायो ।२ वर्षका बालकदेखि ९० वर्षका वृद्धसम्मलाई कोभिडको उपचारपछि निको पारेको अस्पतालले जनाएको छ । औसत १४ दिनसम्म निगरानीमा लिएर उपचार गर्दा बिरामीको १० हजार रुपियाँ खर्च भएको देखिन्छ ।

‘अन्य बिरामीलाई सन्चो बनाएको इतिहास हेर्दा सक्छांै भन्ने एक मनले भनेका थियौं फेरि अर्काे मनले विश्वले नियन्त्रण गर्न नसकेको भाइरस हामी कसरी नियन्त्रण गर्न सकौंला भन्ने त्रास पनि लागिरहेको थियो’, उक्त अस्पतालका व्यवस्थापक हरि सापकोटा भन्नुहुन्छ– ‘हामीले कोभिड उपचारमा सयमा सय नै प्रतिशत रिजल्ट दियौं भन्ने समाचार विभिन्न मिडियाले छाप्दा यस्तो हुन नसक्ने भन्दै फेसबुकले समाचारलाई हटाइदिएको पनि थियो ।’प्राकृतिक चिकित्सालयले तत्काल सर्जरी गर्नुपर्ने र सरुवा रोगबाहेक सबै उपचार गर्ने भए पनि यो उपचार आफ्नै लागि नयाँ प्रयोग भएको छ ।’ –उहाँले भन्नुभयो ।

११ वर्षदेखि निरन्तर गैरनाफामूलक ढंगले सञ्चालन भएको अस्पतालमा सबै रोगको उपचारसहित खान–बस्न गरेर दैनिक मात्र ९ सय रुपियाँँमा उपचार गर्दछ । ‘पाँच÷छ वर्षदेखि महिनाको १२ हजार रुपियाँको हाराहारीमा अस्पतालको औषधि खाँदै आएकी थिएँ’, स्याङ्जा जिल्ला आरूखर्कबाट उपचारका लागि त्यहाँ पुगेकी विष्णुमाया थापाले भन्नुभयो– ‘तर, अहिले यहाँ आएपछि ती औषधि सबै छोडें, दुखाइ पनि छैन । यहाँ उपचार गर्न आएको १२ दिन भयो, अब केही दिनमा घर जान्छु ।’ थापाका अनुसार खुट्टा, ढाड दुख्नेलगायतका बिमारीले औषधि खाएर धेरै पैसा सकिएको थियो ।

प्राकृतिक चिकित्सामा कुनै औषधिभन्दा पनि प्राकृतिक चिजको प्रयोगले रोग निको पार्ने गरेको डा. आजात पुरीको भनाइ छ । ‘यहाँ ठूलो औषधि केही खुवाइन्न र यहाँ उपचार गरेपछि जिन्दगीभर औषधि खाइराख्नु पनि पर्दैन । तपाईं हामीलाई सामान्य लाग्ने माटो, पानीलगायतका विधिबाट रोग निको पारिन्छ, बिरामी निको नहुदासम्म यहाँ बस्ने हो, यहाँबाट निस्केर गएपछि निरन्तर कुनै औषधि खानु पर्दैन ।’ –उहाँको कथन छ ।अधिकतम बिरामी ३० दिनसम्म बसेको डा. पुरीले विवरण दिनुभयो । ‘यहाँ आउने बिरामीलाई यहीं उत्पादन भएको अग्र्यानिक वस्तु खुवाइन्छ भने बिरामीलाई जिन्दगीमा जिउने तरिका सिकाइन्छ ।’ –उहाँले प्रस्ट पार्नुभयो ।

महायज्ञबाट रकम संकलन गरेर शुरुआत भएको उक्त अस्पतालमा उपचारमा आएका बिरामी निको भएपछि तिनै बिरामीले बनाएको भवनसमेत छ । ‘हामीले फाइदाका लागि भन्दा पनि अस्पतालको प्रशासनिक खर्चका लागि मात्रै बिरामीसँंग पैसा लिने गरेका छौं । यदि सरकारले अस्पतालमा केही दरबन्दी दिन्छ भने यो रकमलाई समेत घटाउन सकिन्छ ।’ –व्यवस्थापक सापकोटाको भनाइ छ । जग्गा सरकारी र भवन दाताले बनाइदिएको, सेवामुखी भावनाले सञ्चालन गरिएको हुँदा प्रशासनिक खर्चभन्दा अरू रकम जोहो गर्न नपरेको उहाँ खुलासा गर्नुहुन्छ ।

सरकार एवं दाताको सहयोग भएर भौतिक संरचना बनाउन सकियो भने आगामी वर्षदेखि ‘नेपाल प्राकृतिक चिकित्सालय सामुदायिक शिक्षण अस्पताल’ सञ्चालन गर्ने गरी अस्पतालले तयारी थालेको छ । ज्येष्ठ नागरिकलाई आवास, भोजन र उपचारसहितको सेवा दिने लक्ष्यसमेत राखेको अस्पताललाई सरकारले समेत हेल्थ टुरिजम स्पटका रूपमा अगाडि बढाउन सक्ने भिजन सापकोटाको छ ।