२४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : राष्ट्रिय भवन संहिता कार्यान्वयनमा जोड

0
Shares

काठमाडौं, (नेस) ।

भूकम्पीय जोखिम न्यूनीकरण गर्न राष्ट्रिय भवन संहिता कार्यान्वयनमा जोड दिइएको छ । भवन संहिताविपरीत घर तथा भवन निर्माण हुँदा भूकम्पको समयमा ठूलो जनधनको क्षति हुने भन्दै सरोकारवाला निकायले भवन संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

२४औं भूकम्प सुरक्षा दिवसको अवसरमा आइतबार ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायर क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गर्दै आयोजित कार्यक्रमका सहभागीले भूकम्पबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न कमजोर संरचनालाई प्रवलीकरण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले भूकम्पीय जोखिमका दृष्टिले मुलुक ११औं नम्बरमा रहेको बताउँदै भवन संहिताअनुसार मात्र घर निर्माण गरेर सुरक्षित संचरना बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी दिनमा भूकम्पको जोखिम कम गराउन राष्ट्रिय भवन संहितालाई प्रभावकारी रूपमा लागू गर्नुको अर्को विकल्प नभएको बताउनुभयो ।

सिमेन्ट र छड प्रयोग गर्दैमा घर बलियो नहुने बताउँदै भौगोलिक अवस्थितिअनुसार निर्माण गर्दा भवन संहिताको ख्याल गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सार्वजनिक स्थलमा संरचना बनाउदा भूकम्प आउँदा भाग्ने खुला क्षेत्र नभएकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो– ‘अब भएको सार्वजनिक जग्गालाई खुला क्षेत्रका रूपमा विकास गर्नुपर्छ ।’ कमजोर घरहरूलाई प्रवलीकरण गरेर बलियो बनाउनुपर्ने बताउँदै उहाँले सरकारले कार्यक्रमकै रूपमा प्रवलीकरणलाई अगाडि बढाउनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।

भूकम्प सुरक्षा दिवस प्रचार–प्रसार उपसमितिका संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले घर तथा भवनलाई सुरक्षित बनाउन विभागले २०५८ देखि कालिगडलाई तालिम प्रदान गर्दै आएको बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहको समन्वयमा भवन संहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर लैजानुपर्ने बताउँदै मैनालीले साझा प्रयासले मात्र बलियो संरचना बनाउन सकिने बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई कम गर्नका लागि प्राधिकरणले सूचना प्रविधिको प्रयोगलाई अगाडि बढाएको बताउनुभयो । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले भूकम्पीय जोखिम न्यूनीकरणका भवन संहिता कार्यान्वयनलाई सरकारले विशेष चासोको साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि रिचर्ड होवाडले मुलुकका समुदायस्तरमा भूकम्पजस्ता प्राकृतिक प्रकोपको चेतना पु¥याउन आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भवन निर्माण संहिता–२०६९ बनाउने पहिलो नगरपालिका तत्कालीन ललितपुर उपमहानगरपालिका रहेको दाबी गर्नुभयो ।

उहाँले महानगरपालिकाभित्र रहेका खुला क्षेत्रमा पूर्वाधार बनाउन रोक लगाइएको जानकारी दिँदै आफ्नो नगरपालिकाको जस्तै सबै स्थानीय तहले भवन संहिताअनुसार संरचना बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सुरक्षित संरचना बनाउनुपर्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिम कम गर्न सुरक्षित संरचना बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले कमजोर संरचनाले ठूलो जनधनको क्षति हुने भएकाले राष्ट्रिय भवन संहिताअनुसार संरचना निर्माण गर्नुपर्ने बताउनुयो ।

अव्यवस्थित शहरीकरण नै भूकम्पीय जोखिमका प्रमुख कारण बन्न सक्नेप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भूकम्पबाट जोगिन बलियो संरचना निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

२४औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई अर्चुअल सम्बोधन गर्दै उहाँले २०७२ सालको भूकम्पमा देखेका र भोगेका कुरालाई मनन गरेर आउँदा दिनमा यसबाट जोगिने योजना तयार गरिने बताउनुभयो । ‘दिगो विकासको लक्ष्यलाई आत्मसाथ गरेर संरचना निर्माण गर्नुपर्छ, सम्भावित जोखिमलाई न्यूनीकरण गर्न समयमै पूर्वतयारी गर्नपर्छ, पूर्वतयारी भएको अवस्थामा जोखिम काम गर्न सकिन्छ ।’ –उहाँले भन्नुभयो ।

भूकम्प, आगलागी तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपद्को क्षति न्यूनीकरणका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै जोखिमबाट नागरिकको रक्षा गर्न दक्ष जनशक्ति परिचालन गर्न सबै स्थानीय तहलाई तयारी अवस्थामा रहन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट सरकारले पाठ सिक्दै आगामी दिनमा खोज तथा उद्धारको कामलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति उत्पादनमा ध्यान दिएको बताउनुभयो ।