कोभिड नियन्त्रण गर्न यस्तो छ तयारी

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

कोभिडको संक्रमण दैनिक बढ्दै गए पछि जिल्लामा संक्रमण फैलन नदिन तयारी थालिएको छ । पहिलो संक्रमण फैलन नदिन र दोस्रो संक्रमण भए पछि नियन्त्रण गर्ने गरी तयारी थालिएको हो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा। पुरुषोत्तम राज सेढाईका अनुसार दैनिक कोरोना भाइरसका कारण संक्रमित हुने क्रम बढिरहेको छ ।

परीक्षणका लागि स्थानीय तहमा एन्टिजेन किट र पिसिआरका लागि भिटिएम पठाई सकिएको छ । ‘पहिले एन्टिजेन परीक्षण गरिन्छ । लक्षण भएर पनि नेगेटिभ देखिएकाहरूलाई पिसिआर गरिन्छ’– वरिष्ठ स्वास्थ्य प्रशासक डा. सेढाईले भन्नुभयो– ‘संक्रमण हुनै नदिन खोप अभियानलाई पूर्ण बनाउँदै जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गराउन अनुरोध गरेका छौं ।’ तर पनौतीमा शुरु भएको मकर मेलाले सरकारी निर्णयको धज्जी उडाइरहेको छ ।

प्रमुख सेढाईका अनुसार १३ वटै पालिकामा २६ जना सिआईसिटी टिमका सदस्यहरुलाई तालिम प्रदान गरिसकिएको छ । यो पटक अभिलेख तथा सूचना प्रणालीलाई व्यवस्थित बनाईएको छ । कोभिड संक्रमित व्यक्तिको पूर्ण विवरण लिई उसलाई आवश्यक पर्ने अस्पताल र उपचार सेवाका बारेमा सोही टिमले सूचनाको अभिलेखीकरण गर्नेछ ।

कोभिड नियन्त्रणका लागि अरनिको राजमार्गको सिमाना भुम्लु गाउँपालिकाको दोलालबाट, विपी राजमार्गको रोशी स्थित मंगलटार, बनेपाको साँगामा हेल्प डेस्क राखिएको डा। सेढाईले बताउनु भयो । स्थानीय तहलाई भइरहेका अस्पतालहरूलाई तयारी अवस्थामा रहन, अक्सिजन, अक्सिजन कन्सन्टेटर लगायतका सामग्रीहरु र जनशक्तिलाई तयारी रहन निर्देशन दिईएको छ ।

पहिलो र दोस्रो संक्रमणमा धेरै बिरामीलाई सेवा दिएको धुलिखेल अस्पतालले दोस्रो चरणको संक्रमणमा उपचार गराएको ३ करोड ४३ लाख रुपैया अझै भुक्तानी पाइसकेको छैन । तर पनि अस्पतालले सामान्य १ सय, आइसियु ३५ र भेन्टिलेटर २४ वटा तयारी अवस्थामा राखेको छ ।

‘हामीले पहिलो र दोस्रो चरणमा उपचार गराएको अनुभवका आधारमा यो चरणको संक्रमणमा उपचार गराउने तयारी गरेका छौं’–प्रशासकीय प्रमुख डा. रमेश माकजुले भन्नुभयो–‘सरकारले पैसा दिएर वा बिरामीसँग लिएर उपचार गराउने हो निर्णय गरेको छैन । जसका कारण हाम्रो अस्पतालमा आएका बिरामीलाई रिफर गरिरहेका छौं ।’

सरकारले अस्पतालहरूलाई तेस्रो चरणको संक्रमणका बारेमा के गर्ने आधिकारिक निर्णय नगर्दा बिरामीले हैरानी बेहोरेका छन् । बनेपाको शिर मेमोरियल अस्पतालले दोस्रो चरणमा जस्तै कोभिडका लागि २० शय्या र प्रि कोभिडका लागि १० शय्या तयारी अवस्थामा राखेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. एन्जिला बस्नेतका अनुसार केही दिन देखि ज्वरो आउने र कोभिडका लक्षण मिल्दोजुल्दा बिरामीको संख्या बढेको छ ।

प्रि कोभिडको बेडमा भर्ना गरी रिपोर्ट आए पछि कोभिड वार्डमा सार्ने गरी व्यवस्थापन गरेको डा। बस्नेतले बताउनु भयो । कोभिडको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता प्राप्त गरेका छैनन् ।

मन्त्री लामाको आकस्मिक अनुगमन

बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामा मेलम्चीको एक कार्यक्रममा सहभागी भएर राजधानी फर्कने क्रममा धुलिखेलमा रहेको प्रादेशिक जनस्वास्थ्य ल्याबको अनुगमन गर्नु भएको छ ।

जनस्वास्थ्य ल्याबका निमित्त निर्देशक नारायण कार्कीले ल्याबमा दैनिक कोभिड संक्रमणका बिरामीहरूको स्वाब परीक्षणका बारेमा मन्त्री लामालाई जानकारी गराउनु भएको थियो ।

बागमती प्रदेश सरकारले अनिवार्य खोप, फ्रन्टलाईनरलाई तेस्रो मात्राको खोप, जनस्वास्थ्यको मापदण्ड पालना गर्न र संक्रमण बढ्दै जाँदा उपचारका लागि व्यवस्थापन गर्न गरी तयारी गरिसकेको बताउनु भयो प्रादेशिक ल्याबमा केही दिन देखी संक्रमणका बिरामीहरू धेरै आउन थालेको कार्कीले बताउनु भयो ।