नोबेलका आन्दोलनरत विद्यार्थीले जलाए पुत्ला



विराटनगर ।

अतिरिक्त शुल्क प्रकरणविरुद्ध आन्दोलित विद्यार्थीहरूले बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । पुसको पहिलो सातादेखि आन्दोलित एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरूको माग सुनुवाई नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले बिहीबार कलेज अगाडि सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् । उनीहरूले सञ्चालक शर्माको कृत्रिम शव बनाएर अस्पताल परिसर परिक्रममा गर्दै मूलद्वारमा पुत्ला दहन गरेका थिए । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा पीडित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले दिनदिनै प्रदर्शनको स्वरूप परिवर्तन गर्दै आफ्नो आन्दोलनलाई जारी राखेका छन् ।

आन्दोलित विद्यार्थीहरूले कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नभएसम्म आफ्नो आन्दोलनलाई थप सशक्त बनाउँदै जारी राख्ने चेतावनी दिएका छन् । आन्दोलनकै क्रममा झडपसमेत भएपछि विद्यार्थीहरूको आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले कलेजभित्र नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाएका छन् । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय कमिटी सदस्य ताजिम अन्सारीले विद्यार्थीको जायज मागको सम्बोधन गर्न सञ्चालक शर्मालाई वार्तामा आउन आग्रह गर्नुभयो ।

मेडिकल माफियाहरूले विद्यार्थीका अभिभावकलाई यातना, डर, धम्की दिएर चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क असुल्न खोजेको भन्दै अन्सारीले अब पनि माग सम्बोधन नभए भोलिबाट चरणबद्ध रूपमा थप आन्दोलनमा जाने चेतावनी दिनुभयो । उहाँले विद्यार्थीसँग जबरजस्ती अतिरिक्त शुल्क उठाउने शिक्षा माफिया रहुञ्जेल आफूहरूले पीडित विद्यार्थीको पक्षमा संघर्ष गरिरहने पनि बताउनुभयो । यस्तै, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियु जिल्ला कमिटी मोरङका सचिव निर्मल भण्डारीले आफूहरूको आन्दोलनलाई बेवास्ता गरिएको र यति लामो आन्दोलन गरिरहँदा पनि मौन बसेको भन्दै सम्बन्धित पक्षलाई तत्काल माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।

आन्दोलित विद्यार्थीहरूले सञ्चालक शर्मालाई लुकेर नबस्न तथा वार्तामा आउन आह्वान पनि गरेका छन् । सीमित व्यक्तिलाई राखेर कक्षा सञ्चालन गरेको विरोधमा कलेजमाथि कारबाही गर्नुपर्छ भन्ने माग राखेर जिल्ला प्रसाशनमा जाँदा पनि आफूहरूको माग सम्बोधन नभएको विद्यार्थीहरूको गुनासो छ । कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा चक्काजाम गरेका थिए ।

विद्यार्थीहरू बुधबार जिल्ला प्रशासन कार्यालय मोरङअगाडि धर्नासमेत बसेका थिए । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने आफ्नो ध्याकर्षण भएको भन्दै कलेज सञ्चालकसँग छलफल भइरहेकाले चाँडै विद्यार्थीको समस्या समाधान हुने आश्वासन दिनुभएको छ । पीडित विद्यार्थीहरू विद्यार्थी संगठनको सहयोगमा गत बुधबारदेखि कलेज प्रशासनमा तालाबन्दी गरी लगातार रिले अनशनमा बस्दै आइरहेका छन् । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई मेडिकल कलेजले अतिरिक्त शुल्कको बहानामा विद्यार्थीको पठनपाठन रोकिएको भए कानुनी कारबाही गर्न पत्राचार गरे पनि हालसम्म कुनै कारबाही भएको छैन । चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्क विपरित नोबेलले विभिन्न शीर्षकमा ३५ देखि ४० लाख रुपियाँसम्म अतिरिक्त शुल्क असुल्न खोजेको भन्दै पौषको पहिलो हप्तादेखि नोबेलका विद्यार्थीहरू चरणबद्ध आन्दोलनमा छन् ।

आयोगले तोकेको भन्दा अन्य अतिरिक्त शुल्क लिन नपाइने, होस्टेल अनिवार्य गर्न नपाइने, होस्टेलको नाममा चर्को शुल्क असुल गर्न नपाइने र अतिरिक्त शुल्कको नाममा विद्यार्थीहरूलाई तर्साउन, धम्क्याउन तथा मानसिक तनाव दिन नपाइने उनीहरूको माग छ । तर, महिना दिन बित्न लाग्दा पनि कलेजले उनीहरूको माग सम्बोधनमा कुनै तदारुकता देखाएको छैन । उल्टै, गएको पौष २५ गते रिले अनसन बस्न लागेका विद्यार्थीहरूमाथि कलेजले प्रहरीको आडमा सुरक्षा गार्ड भिडाएर आक्रमणसमेत गरेको थियो ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिस्ट्रेसन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्कलगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरूसँग थप ३५ देखि ४० लाख रुपियाँ असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भए पनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरूसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ ।

यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत् विद्यार्थीहरूसँग काठमाडौं विश्वविद्यालय रजिस्ट्रेसन शुल्क बापत २५ हजार, काठमाडौं विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिस्ट्रेसन शुल्कबापत ५ हजार र काठमाडौं विश्वविद्यालय परीक्षा शुल्कबापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्