वैकल्पिक ‘चेतना’ भयो तर ‘पार्टी’ भएनन्



  • पेशल आचार्य

‘समाज रूपान्तरणको छट्पटी बोकेका असल व्यक्तिहरूको समूहले राजनीतिक चरित्र ग्रहण गर्न सकेन । आम जनताले वैकल्पिक राजनीतिमा खोजेको नवीन सोच र रूपान्तरणको विश्वसनीय खाका विवेकशील साझा पार्टीका दुवै समूहसँग छैन । पुरानै दलका विचार/एजेन्डाको खाँबो अँगालो हाल्न उद्यत् ‘विसापा’का दुवै समूहबाट वैकल्पिक राजनीति अब सम्भव छैन कि जस्तो देखिँदै छ । तथापि नेपालमा वैकल्पिक राजनीतिको औचित्य भने अझै छ, परिवेश झन् अनुकूल बन्दै छ ।’ प्रविधिविज्ञ तथा विवेकशील साझाका केन्द्रीय नेता डा. सूर्यराज आचार्यले यसो भनिरहँदा के प्रतिप्रश्न उठाउन सकिन्छ भने, कांग्रेस, एमाले र माओवादी केन्द्रले भटाभट आफ्ना महाधिवेशन गरिसक्दा ती पार्टीहरूमा दोहोरिएका पुराना र केही नयाँ अनुहारले आगामी चार–पाँच वर्षभित्र नेपाललाई पूरै कायापलट गरेर सिङ्गापुर र स्वीट्जरल्यान्ड बनाउने तागत पक्कै राख्दैनन् । यस्तो बेलामा वैकल्पिक शक्ति हौं भन्नेहरूले सामाजिक सञ्जालमा फुल मात्र पार्न छाडेर विदेशमा खुन–पसिना बगाउन बाध्य नेपालीको सम्बोधन गर्न सकेको खै ? उनीहरुको पीडा, चाहना, सीप र योग्यतालाई सम्बोधन गर्न सक्नुर्यो नि ! साथै सामयिक राजनीतिक दर्शन बनाउँदै गोलबन्द भएर ठालु पार्टीलाई चुनावमा दह्रो ‘तमाचा’ मार्न सकेको भए बरू जनताले वैकल्पिक शक्ति ठान्ने थिए । त्यसो भएको देखिएन वा सुनिएन ।

शुरुदेखि विवेकशीलका पार्टीनेता स्व. उज्ज्वल थापाले विदेश गएका या विदेश जान खुट्टा उचालेका युवाहरूको मानसिकतामा डेरा जमाई सामाजिक सञ्जालमा आफूलाई स्थापित बनाए । त्यसैको सिको गर्दै पूर्वपत्रकार रवीन्द्र मिश्र हुँदाखाँदाको बीबीसीको जागिर छाडेर नेपाली राजनीतिमा के–के न पाइन्छ भनी हाम फाल्न आएकै हुन् । उनको वैकल्पिक धारको सार जनताले देखिसकेका छन् । एकतन्त्रका हिमायती बाबुका छोरा रवीन्द्रले पाँच–सात वर्ष जनतालाई गुमराहमा राखी जसरी राजनीति गरे त्यो राजनीतिले अन्त्यमा आफ्नो निर्दलीय स्वरूप ‘म्याउँ’ गरेर जनाउ दिइसक्यो । उनको राप्रपामा एकीकरण हुने कुरा बाहिर आएपछि अहिले बेबकुफ त यु्वा पुस्ताको त्यो वर्ग भएको छ जो हिजो आँखा चिम्लेर दायाँ–बायाँ नहेरी ‘विवेकशील–साझा हाईहाई, कांग्रेस–एमाले बाईबाई’ भनेर चुनावमा शेरगुल मच्चाउँथ्यो ।

राजनीतिमा दर्शन चाहिन्छ तर अहिलेका ठालु पार्टीहरूले गरेको दुःख ऐतिहासिक भैसकेको छ । तिनीहरूका नेता र कार्यकर्ताहरूले नाहकमा आफ्नो घर, परिवार, समाज र आफूलाई मिटाएका होइनन् । यसो हुनुमा विदेशी परिवर्तनको दाउनले समेत काम गरेको छ । अहिले पुराना पार्टीबाट मतान्तर भई फुटेका या नयाँ दल बनाएर राजनीति गर्नेहरूले आफ्नो पुस्ताले दुःख गरेमा छोरानाति पुस्ताले मात्र सोको फल प्राप्ति गर्न सक्छन् भन्ने हेक्का राख्नु राम्रो हो । त्यो कुरा वैकल्पिक राजनीति गर्नेहरूले बुझेकै छैनन् । कर्पोरेट चरित्र देखाएर शहरमुखी सामाजिक सञ्जालमा रमाउने भर्चुअल पुस्तासँग गरेको परिसंवादले ताप्लेजुङको चिवा भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्मका जनताको पीडालाई सम्बोधन गर्न किमार्थ सक्दैन ।

पहिले त देशीय रूपले गाउँ–गाउँ, खोलाटोला, रनवन, पालिका–पालिका, जिल्ला–जिल्ला र देशमा चिनिनुपर्यो । धरातलीय यथार्थ बुझ्नुपर्यो । आजको आवश्यकता के हो ? युवाहरूको चाहना के छ ? किन पुरानो पार्टीमै युवाहरू झुम्मिरहेका छन् ? त्यसको अन्तर्वस्तु पत्ता लगाउनुपर्यो । यी सब कुरा नयाँ र वैकल्पिक पार्टी हौं भन्नेहरूले कहिल्यै बुझ्न चाहेनन् । या यिनीहरूको त्यो सब बुझ्ने ल्याकत नै रहेन ।

वर्तमान नेपालको शिक्षा प्रणलीलाई हेर्यो भने थाहा पाइन्छ कि कसरी हामी गुज्रिरहेका छौं । सरकार कक्षा ६–८ सम्म साउदी–कतारी भाषाको किताब देऊ अनि कक्षा ९–१० सम्म जापानिज–कोरियन भाषाको किताब राखिदेऊ । त्यस्तै प्लस टुमा आयल्स र टोफेलको कोर्स पढाइदेऊ । आखिर किन नेपाली विद्यार्थीको समय र पैसा नष्ट गर्ने ? जसले जताबाट अर्थ लगाए पनि अहिलेको नेपालको कटु यथार्थ यही हो ।

नेपाल विशृङ्खलित अवस्थामा भएकाले पढेलेखेका भ्रमजीवीलाई नेता भइटोपल्छु कि भनेर रहर जागेको हो । युवा पत्रकार सङ्केत कोइराला नेताका बारेमा स्पष्ट धारणा राख्छन्– ‘नत्र नेता र अभिनेताको नियति उही हो । टाकुरामा उभिएर ठूलो हुने होइन । उसले प्रभाव कस्तो छोड्छ भन्ने विषय प्रधान हुन्छ । वर्तमान विश्व राजनीति लोकतन्त्रका नाममा निरङ्कुशताको महाअभियानमा अघि बढेको छ ।’

नेपालमा अझै कर्मचारीरूपमा जङ्गबहादुरहरू बाँचिरहेका छन् । कांग्रेसको जिल्ला स्तरका एक कार्यकर्ता वर्तमान अराजकतालाई चित्रण गर्छन्– ‘माछा खरिदकाण्ड’ मा दादागिरी देखाउने चितवनका सिडिओ आशमान तामाङ र नेपाली कांग्रेस सिराहाका सभापतिलाई गोली हानेर उडाइदिन्छु भन्दै उनको घरमा गएर ‘गुन्डागर्दी’ गर्ने सिरहाका एसपी हीराबहादुर पाण्डेले यो देशको प्रहरी र प्रशासनलाई थप बदनाम गराए । रक्षक नै भक्षक भैदिएपछि नागरिकहरू कसको भरोसामा बाँच्ने ? सरकारले तत्काल यस्ता प्रवृत्तिलाई जरैदेखि उखलेर फाल्दै सरकारप्रति जनताको विश्वास जगाउनु जरूरी छ ।’

नारायणहिटीमा बतास समूहले निर्माण गर्दै गरेको कफी सपमा चौतर्फी आवाज उठेका बेला विश्लेषक सरोज बराल प्रश्न गर्दछन्– ‘संसारको कुन देशका राजाको दरबारमा राजा हटाएर गणतन्त्र स्थापनापछि रेस्टुरेन्ट खोलिएको छ ? तिब्बतको पोटाला दरबार ? फ्रान्सको इलिजी दरबार कि भर्साइल दरबार ? इटलीको दरबारमा छ कि जर्मनीको दरबारमा छ ? चीनमा छ कि रसियामा ? भारतका विभिन्न राज्यका दरबारमा पो छ कि ? सिक्किमको ? कुचविहारको ? पन्जाबको ? लखनउको ? झाँसीको कि हैदरावादको ? नेपालका लिच्चड नेताहरूले कहाँ देखेर आए ? हुँडारहरूले ल्याएको हो गणतन्त्र ? किन यसलाई गलगाँड बनाउँदै छन् ? गणतन्त्रको बदनाम गराउने पिसाच र छौंडाहरूलाई मन्साउनै पर्ने भएको हो त ?’

माओवादी केन्द्रको महाधिवेशनपछि सुप्रिमो प्रचण्डले भने– ‘विधि–विधानअनुसार हामीले पार्टीमा नयाँ जीवन दियौं तर मिडियाहरूले हामीलाई नै खेदे ।’ सो पार्टीमा भएको त्यस्तै हो, जहाँ चुनावै नभई कार्यकर्ताहरूलाई खल्तीबाट नाम झिकेर ताली पड्काउन लगाएकै हुन् प्रचण्डले । प्रचण्डको गुनासो बेमनासिब देखिन्छ । किनकि पार्टीका कार्यकर्ताहरू पुनः नयाँ शिराबाट नेताको छनोट गर्ने मनसायमा देखिएका थिए ।

नागरिक अगुवा विश्व सिग्देल हाकाहाकी भन्छन्– ‘लोकतन्त्र यस्तो दुईमुखे सुरुङ हो, जसको एकछेउबाट गधा हुलिदियो भने निस्कँदा गाई भएर निस्कन्छ । रत्नाकर हुलिदियो भने वाल्मीकि भएर निस्कन्छ । अङ्गुलीमाल हुलिदियो भने सन्त भएर निस्कन्छ । तर हामीले लोकतन्त्रको यस्तो विद्रूप भाष्य निर्माण ग¥यौं, यहाँ त गाई हुले गधा, वाल्मीकि हुले रत्नाकर र सन्त हुले अङ्गुलीमाल भएर निस्केका छन् ।’

उनी अघि थप्छन्– ‘गाई गधा भएसम्म ठिक्कै थियो, रत्नाकर, अङ्गुलीमालहरूलाई अब थेग्न सकिँदैन । लोकतन्त्रको भाष्य बदल्न देश तयार नभइन्जेल यस्तो दुष्कर्मको मतपत्रमा मोहर लगाउँदै–बस्दै साक्षी बस्न सकिँदैन । आम मानिस नीति निर्णयमा पुग्नु त के दलको इकाइमा निर्वाचित हुनसमेत असम्भव भैसक्यो । यथास्थितिमा मतदान केन्द्रमा पुग्नु मेरो विवेकले साथ दिँदैन । तपाईंहरू यसैमा मनोरञ्जन गर्नुहोस् ।’

बौद्धिक वर्गबाट यस्तो फ्रस्टेसन आउनु भनेको वैकल्पिक राजनीतिको ढोका डा. सूर्यराज आचार्यले भनेझैँ बन्द नहुनु हो । अहिले भनेझैँ क्यारिश्मेटिक व्यक्तित्व काल र परिस्थिति सुहाउँदो विचार लिएर तमाम भोका, नाङ्गा, मिहिनेतकश, श्रमजीवी र समाजको तल्लो तप्कामा रहेर सबै किसिमका हेलाहाँसो र उत्पीडन सहेर बसेका जनताका समूल भावनालाई सम्बोधन गर्ने गरी मैदानमै आउनुप¥यो अनि मात्र देशमा केही हलचल होला । नत्र उही पाँच–पाँच वर्षसम्म पार्टीका विरुद्धमा विष वमन गर्यो अनि चुनावका बेला मतपत्र लिई एकछिन् झोक्राई फेरि उही पुरानै पार्टीमा ड्यामड्याम छाप लगाउँदै हात काटेर दियो ।

यही तालले राजनीति कहिल्यै बदलिनेवाला छैन । कांग्रेसमा गुट परिवर्तनपछिको चुनावी नौटङ्कीबाट सो पार्टीका कार्यकर्ता आजित भइसके भन्ने कुरा सभापतिमा पराजित उम्मेदवार डा. शेखर कोइरालाले असन्तुष्टहरूको भेला आयोजना गरी ‘कांग्रेसमै किन बस्ने भन्ने प्रश्न उठ्न सक्छ’ भने त्यसबाट नयाँ राजनीतिक तरङ्ग पैदा भयो ।

विश्लेषक सञ्जीव कार्की भन्छन्– ‘डा. शेखर कोइरालाजस्ता भलादमी मान्छेले शेरबहादुर देउवाको आलोचना र प्रतिवाद प्रथमतः पार्टी केन्द्रीय समितिको बैठकमा आफू र आफ्नो खेमाबाट निर्वाचित समूह र अन्यको पनि साथ लिएर गर्नुपथ्र्यो । अन्यत्र बसेर, आफ्नो गुट मात्रै भेला गरेर गरेको प्रतिवाद र गुटबन्दीले अन्ततः पार्टीलाई विखण्डन र विभाजनको धर्सा कोरर प्रकारान्तरले पार्टी फुटतर्फ उन्मुख गराउँछ । भेला नै गर्नुथ्यो भने पार्टी कार्यालय उपयुक्त स्थान हुन्थ्यो । एउटा परिपक्व राजनीतिज्ञले गरेको अस्वाभाविक र हतारको रूपमा मैले बुझेँ । केन्द्रीय सदस्य छान्ने मापदण्ड देउवासँग सोध्ने कि पत्रकार बटुलेर सोध्ने ? अलि मिलेन । गल्तीको प्रतिवाद गल्ती गरेर कदापि हुन सक्दैन ।’

लेखक राजेन्द्र थापाको बुझाइ फरक छ– ‘गेस्ट कांग्रेसी नेता शेखर भर्खर कोइरालाको नाताले कांग्रेसमा आएर महत्वाकाङ्क्षी बनेका हुन्, दुःख गरेर ४–५ दशक बिताएका अग्रज नेता या स्कुलदेखि लडेर आएका युवा नेता होइनन् । फुट्न सक्ने शब्द उनलाई सुहाउँदैन । चुनाव लडेरै हारेका हुन् । कम्युनिस्ट दलमा जस्तो गोजीले नियुक्ति तथा भोट नहाल्ने हुप्रबाट हारेका होइनन् ।’ यही कुराको समर्थनमा व्यङ्ग्यात्मक पाराले हान्छन् लेखक तथा विश्लेषक हरि अधिकारी– ‘शेखर कोइरालाको मनमा कांग्रेसमै किन बस्ने भन्ने सोचाइको लहर चल्न थालेको हो भने त्यो ‘आत्महन्ता’ साबित हुनेछ । उनलाई उति छिट्टै ठूला नेता कांग्रेसमा भएका कांग्रेसहरूले बनाएको हो । उनले सभापतिमा स्पर्धा गर्दा पाएको भोट विजयी नेताका विरोधमा खसेको हो, उनको व्यक्तित्वको समर्थनमा होइन । पार्टी छोडे भने शेखरको गति उनका कजन प्रकाश कोइरालाको भन्दा पनि खराब हुनेछ ।’ यस्तो अवस्थामा वैकल्पिक राजनीतिको भँगालो सुरु गर्न चाहनेहरूलाई निक्कै सोची–सम्झीकन पाइला चाल्नु बेस हुनेछ ।

समयले दलहरूको स्खलन गरिरहेको छ । क्रमशः यही अवस्था रहिरह्यो भने दलहरू दलालमा परिवर्तन हुन बेर लाग्दैन । खबर हबसँगको अन्तक्र्रियामा प्रसिद्ध अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुर्याल भन्छन्– ‘प्रचण्ड र माधव नेपालसँगको गठबन्धन छाडेर देउवा र ओली मिले भने एमसीसी पास हुन्छ, नेपालका नेताहरू स्वार्थकेन्द्रित रहेकाले कुनै पनि परिवर्तनहरू हुन सक्छन् ।’

प्रतिक्रिया दिनुहोस्