विश्वकै दोस्रो लामो जीपलाइन सञ्चालनमा 

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वत जिल्लाको कुस्मामा निर्माण भएको  सुपर म्यान शैलीमा विश्वकै दोस्रो लामो  जिपलाइन शनिवारदेखि सञ्चालनमा आएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनको तयारी गरिए पनि त्यसको एक साता पछि सञ्चालनमा आएको हो ।

साहसिक पर्यटनको नयाँ तथा आकर्षक गन्तव्य बन्दै आएको कुस्मामा आउने साहसिक पर्यटकलाई लक्षित हार्नेस प्रालि मार्फत पर्वतका स्थानीय युवाहरुको लगानीमा जीप लाइन निर्माण भएको हो ।  जीपलाईनको कुस्मा नगरपालिकाका प्रमुख तथा जीप लाइनका संरक्षक रामचन्द्र जोशीले शुभारम्भ गर्नुभयो ।

लामो समय प्राविधिक लगायतका विषयमा भएका सबै परीक्षण सफल भएपछि व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हार्नेस प्रालिका प्रबन्ध निर्देशक सुनिल बानियाँले बताउनुभयो । जिपलाइनका लागि सुपर म्यान शैलीका लागि ४ हजार ५ सय र क्लासिकका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ । शुभारम्भको अवसर पारेर १० प्रतिशत छुट दिइएको छ ।

 कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ। १४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको एडभेन्चर रिसोर्टमा पुगेर जिपलाइनको ल्यान्डिङ हुनेछ।

शालिग्राम पाइने धार्मिक नदी कालीगण्डकीलाई दुई ठाउँबाट ‘क्रस’ गर्न सकिने भएकाले पनि देशका अन्य ठाउँमा रहेका जिपलाइनभन्दा पर्वतको जिपलाइन विशेष रहेको छ। नदी नै क्रस गर्नुपर्ने भए पनि सामान्यतः एक ठाउँमा क्रस हुनेमा पर्वतको जिपलाइन कालीगण्डकी नदीलाई दुई ठाउँमा क्रस गर्छ।

सुपर म्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको र पर्वतको जिपलाइन त्यसपछिको लामो भएका कारण पर्वतमा पर्यटकहरुलाई आकर्षित गर्नको लागि जिपलाइन महत्त्वपूर्ण अपेक्षा गरिएको छ ।

‘सुपर म्यान शैलीमा दुबईपछिको लामो जिपलाई यही नै भएका कारण धेरै पर्यटकहरु पर्वतमा आकर्षित हुने अपेक्षा हामीले गरेका छौँ। आउनेहरुलाई हार्नेसले निर्माण गरेको जिपलाइन र हाइड्रोलिक पिङले लोभ्याउने छ,’ बाँनिया भन्नुुहुन्छ‘बन्जी जम्प निर्माण भएसँगै साहसिक खेलका लागि पर्वतमा पर्यटकीय चहलपहल सुरु भएको थियो।अब जिपलाइनले फेरि नयाँ आकर्षण दिएको छ।’

कुश्मा नगरपालिकाका प्रमुख तथा जिपलाइनका एक जना लगानीकर्ता रामचन्द्र जोशीले पर्वत साहसिक खेलको जिल्लाका रूपमा विकास हुँदै जानुले पर्यटकीय गतिविधिहरु पनि बढ्दै गइरहेका छन ।