हलिउड -यापरद्वारा प्रेमिकाको हत्यापछि आत्महत्या


सन् २०२२ को पहिलो दिन नै हलिउडमा दुःखद् घटना भएको छ।हलिउड -यापर जे स्टेसले आफ्नी २७ वर्षीया प्रेमीका ग्लालेगोसको गोली हानेर हत्या गरेका छन् भने प्रेमिकाको हत्यापश्चात् उनले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्।

बिलबर्डको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार १ जनवरीको बिहान ७ बजे क्यालिर्फोनियाको टेम्पलसिटिस्थित जेको घरमा भएको घटनाको बेला ग्यालगोसका तीन छोराछोरी पनि घरमै थिए। लस एन्जलस काउन्टी शेरिफको रिपोर्टअनुसार गोली चलेको आवाज सुनेपछि ग्यालेगोसका तीन बच्चाले प्रहरीलाई खबर गरेको र प्रहरीले जेको घर पुग्दा रगतले लतपतिएको अवस्थामा जे र ग्यालगोसको मृत शरीर ढलिरहेको अवस्थामा भेटेको थियो।

प्रहरी जेको घरमा पुग्दा बच्चाहरू डरले कापिरहेको र सुरक्षाको अपिल गरिरहेका थिए। प्रहरीका अनुसार जेको घरको मास्टर बेडरुममा छिर्नुअघि जे र ग्यालगोबीच भएको विवादपछि जेले यस्तो कठोर कदम चालेका थिए। उनीहरूको झगडा शुरू भएको थाहा पाएपछि ग्यालेगोसकी सात, नौ र ११ वर्षका सन्तानले आफ्नी आमाको सुरक्षाका लागि लगातार उनीहरूको कोठाको ढोका ढकढक्याइरहेका थिए।

ढोका नखुलेपछि बच्चाहरूले आफ्नी हजुरआमालाई फोन गरेको र हजुर आमाको सल्लाहअनुसार बच्चाहरूले प्रहरीलाई फोन गरेको समाचारमा उल्लेख छ। जे र ग्यालगोस एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए भने ग्यालेगोस आफ्नी तीन सन्तानका साथ एक फ्ल्याटमा बस्दै आएकी थिइन्।