दोलखाका विद्यार्थीलाई नेवार सुन्दरीको न्यानो माया



मिस नेवाः र लिटिल मिस नेवाः हरुले दोलखा पुगेर त्यहाँका दुई विद्यालयका दुई सय बढी विद्यार्थीहरूलाई न्यानो माया बाँडेका छन्। मिस नेवाः र लिटिल मिस नेवाःहरूले हालै भीमेश्वर नगरपालिका वडा नम्बर २ फूलपामा रहेको फूलपा प्राथमिक विद्यालयका करिब ७० तथा वडा नम्बर १ दामराङमा रहेका सुन्द्रावती आधारभूत विद्यालयका १ सय ३२ विद्यार्थीलाई तातो विद्यालय पोसाक तथा शैक्षिक सामग्री प्रदान गरेका हुन्।

गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका सञ्चालक समिति अध्यक्ष तथा एमाले नेता राजेन्द्र मानन्धरको पहलमा प्राप्त कपडा तथा शैक्षिक सामग्री प्रदान गरिएको मिस नेवाः र मिस लिटिल नेवाः को आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्।

नेप्लिज फेसन होम, मिस नेवाः, लिटिल मिस नेवाः, लायन्स क्लब अफ काठमाडौं भ्याली टेम्पल, नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको सहयोगमा नापी कार्यालय दोलखाका प्रमुख तथा नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका अध्यक्ष तथा एमाले नेता राजेन्द्र्र मानन्धर, नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरलगायतले ती सामग्री विद्यार्थीलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा हेमा मानन्धरले नेप्लिज फेसन होमले गरेका कार्यक्रमबाट प्राप्त रकमको २५ प्रतिशत आम्दानी सामाजिक कार्यमा खर्च गर्ने गरेको जानकारी गराइन्। चिसोको समयमा बालबालिकालाई कपडा सहयोग गरेकोमा अभिभावकले खुसी व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्