मनपराइयो तर्साउने कठपुतली



कोरोनाको उच्च जोखिम कालपश्चात् नेपाली फिल्मको व्यापारलाई लिएर चिन्ता भइरहेका बेला गत शुक्रबारदेखि अल नेपाल रिलिजमा आएको हरर जनरामा निर्मित फिल्म कठपुतली व्यापारिक सफलतातर्फ उन्मुख भएको छ।

रिलिजको पूर्वसन्ध्या पारेर बुधबार राजधानीमा भएको प्रिमियरमा फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले दर्शकबाट समेत रुचाइएपछि ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्समा सयभन्दा बढी शो पाएको छ। हलिउड फिल्म स्पाइडर म्यान र दक्षिण भारतीय फिल्म पुष्पाको आक्रामक व्यापारलाई समेत तोड्दै मल्टिप्लेक्स हलहरूले कठपुतलीलाई राम्रो शोज दिएका छन्।

बुधबार राजधानीमा गरिएको प्रिमियर शोमा सहभागी अधिकांश फिल्मकर्मीले कठपुतलीका कलाकारको अभिनय, निर्देशन, पटकथा, छायांकन, फ्रेमिङ र सम्पादनको प्रशंसा गरेका थिए। निर्माता तथा निर्देशक आकाश अधिकारीले फिल्मको पटकथाको प्रशंसा गरे। ‘समग्रमा फिल्म दर्शकलाई बाँधेर राख्न सफल छ। सम्पदा मल्लको लेखन मलाई मन पर्यो। नेपाली फिल्म नचलिरहेको अवस्थामा यो फिल्मले बाटो खोल्छ भन्नेमा म विश्वस्त छु । अन्तर्राष्ट्रिय स्तरमा पनि यो फिल्म जान सक्ने सम्भावना देखेको छु’ आकाशको भनाइ थियो।

निर्देशक प्रदीप भट्टराईले फिल्मको प्राविधिक पक्षको प्रशंसा गरे। ‘फिल्म हेर्दा नयाँ अनुभव भयो। फिल्म टेक्निकली एकदमै रिच छ । साउन्ड, लाइटिङ, प्रोडक्सन, कस्ट्युम, अभिनयको पक्षले फिल्म बलियो छ’ प्रदीपले भने। अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले फिल्मबाट प्राविधिक पक्षबारे धेरै कुरा सिक्न सकिने बताइन्। पहिलोपटक स्वदेशी भूत हेर्न पाएकोमा उनले खुसी व्यक्त गरिन्। निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले फिल्म समग्रमा राम्रो बनेको र प्राविधिक पक्ष बलियो रहेको बताए। फिल्मकी मुख्य अभिनेत्री उषा रजकले वर्षौंको मेहनतले यत्तिको फिल्म बन्न सफल भएको दाबी गरिन्। अभिनेत्रीद्वय गौरी मल्ल र शिल्पा मास्केले फिल्ममा आफ्नो भूमिकाबाट सन्तुष्ट रहेको बताएका थिए।

फिल्म भीमसेन लामाले निर्देशन गरेका हुन्। फिल्ममा पिताको गलत निर्णयले ढल्ने अवस्थामा पुगेको राजतन्त्रलाई जोगाउन निस्किएको राजकुमारको जीवनमा आउने विभिन्न घटनाक्रमलाई देखाइएको छ। पृथ्वी राना मगरको निर्माण तथा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापाको सह–निर्माणमा फिल्म बनेको हो ।

प्रतिक्रिया दिनुहोस्