मुखमा राखेर ब्राउन सुगर ओसारपसार



बाँके ।

सीमावर्ती भारतीय बजारमा सहजै पाइने लागूऔषधी ब्राउन सुगरको कारोबारीले अनेक तरिकाले ब्राउन सुगर नेपाल भित्र्याउने गरेको पाइएको छ । नाकामा खटिएको लागूऔषधी नियन्त्रण ब्युरो र प्रहरीले बाँके कोहलपुरका राजकुमार थारूलाई मुखमा राखेर ब्राउन सुगर ल्याइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

एक ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगर मुखमा राखेर थारू नेपालगन्जतर्फ अघि बढेका थिए । प्रहरीले शंका लागेर जाँच गर्दा मुखमा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, नाकामा रहेको प्रहरीले कैलाली लम्कीचुवाका २४ वर्षीय कर्ण बोगटीलाई लागूऔषधीसहित पक्राउ गरेको छ । प्रहरीले बोगटीको साथबाट फेनिरामाइल एभिल २ सय १५ वटा, नाइट्रोभेट १० वटा, ट्रामाडोल २ सय १० वटा बरामद गरेको छ । बोगटीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नेपालगन्ज पठाइएको छ ।

लागूऔषधी कारोबारीले ब्राउन सुगर पास गर्न विभिन्न उपायहरु अपनाइरहेका छन् । नाक, मुख, कान, भित्रीवस्त्र, गुद्द्वार, साइकल, रिक्साका विभिन्न ठाउँमा राखेर ब्राउन सुगर ल्याउने गरेको पाइन्छ । नाकामा चौबीसै घण्टा ब्युरोको टोली बस्ने भएकाले उसले मान्छे हेरेर अनुमान लगाउने गर्दछ । भारत गएर फर्किने व्यक्तिको हाउभाउ हेरेर ब्युरोको टोलीले जाँच गर्ने गर्दछ । कतिपयको हकमा पारीबाट नै सुराक आउने गरेको प्रहरीको भनाइ छ ।

सीमावर्ती भारतीय शहर रुपैडिहा, बाबागन्ज, नानपारामा ब्राउन सुगरको सहजै कारोबार हुने गर्दछ । हालै नेपालगन्जमा भएको नेपालका आठ जिल्ला र भारतका सात जिल्लाका सुरक्षा प्रमुखको बैठकमा नेपालले लागूऔषधको कारोबारलाई जोडदार रूपमा उठाएको थियो । भारतीय अधिकारीले लागूऔषध कारोबार हुने ठाउँमा अप्रेसन र व्यक्तिको पहिचान गरेर कारबाही गर्ने प्रतिबद्धता गरेको थियो । यद्यपि, भारतीय अधिकारीले कारोबारीलाई कारबाही गरेको पाइँदैन । स्थानीय प्रहरी प्रशासन मिलेकाले सहजै नेपालतर्फ आइरहेको भुक्तभोगीहरु बताउँछन् । कतिपयको हकमा नेपाल प्रहरीले ठाउँ र मान्छेको नाम नै किटान गरेर दिएपछि भारतीय प्रहरीले छापा मार्ने गरेको छ ।

नेपालगन्ज लागूऔषधीको केन्द्रविन्दु मानिन्छ । भारतबाट सहजै नेपालगन्जसम्म पुग्ने र यहाँबाट देशका विभिन्न शहरमा लागूऔषध पुर्याउने गरिन्छ । पछिल्लो समयमा हेटौडाबाट समेत लागूऔषध लिन आएका व्यक्ति पक्राउ परेका छन् । छिमेकी जिल्लाहरु दाङ र सुर्खेतका कारोबारी सधैंजसो नै पक्राउ पर्ने गर्दछन् । बाँके प्रहरीले दैनिक एक÷दुई जना लागूऔषधीसहित पक्राउ गर्ने गरेको छ ।

बाँकेको हिरासत र नेपालगन्ज कारागार लागूऔषधकै अभियुक्तले भरिएको छ । प्रहरी हिरासतमा चार दर्जन बढी थुनुवामा अधिकांश लागूऔषधका छन् भने नेपालगन्ज कारागारमा आठ सय बन्दीमा आधाजति लागूऔषधका छन् ।

प्रतिक्रिया दिनुहोस्