सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, सडक अवरुद्ध



न्युज अफ नेपाल, काठमाडौं ।

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । मंगलबार रातिदेखिनै बझाङ, दार्चुला, डडेल्धुरा, बाजुरा, बैतडीलगायतका जिल्लाका विभिन्न स्थानमा हिमपात भइरहेको हो ।

डडेल्धुराको अनारखोली, हगुल्टे क्षेत्रमा हिमपात भइरहेको छ भने बैतडीको ढोल्यामोड, खोड्पे, सतबाँझलगायतका स्थानमा हिमपात भइरहेको प्रहरीले जनाएको छ । हिमपातका कारण सवारीसाधन बन्द छन् ।

हिमपातले भीमदत्त राजमार्ग, दशरथ चन्द राजमार्ग, जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा यातायात सेवा अवरुद्ध भएको छ । हिमपात नरोकिएकोले सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।

बझाङको बुंगल क्षेत्रमा पनि बाक्लो हिमपात भइरहेको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको पत्रकार मकरराज धामीले बताए ।

तस्बिरः पत्रकारद्वय डम्मरबाबु बोहरा(खोड्पे बैतडी ) र मकरराज धामी (बझाङ बुंगल)

 

प्रतिक्रिया दिनुहोस्