पाटन विमानस्थल स्तरोन्नतिका लागि १ करोड ५० लाख



बैतडी ।

बैतडीको पाटनस्थित बैतडी विमानस्थल स्तरोन्नतिका लागि १ करोड ५० लाख ४४ हजार २४७ रुपियाँ बजेट विनियोजन भएको छ । बहुवर्षीय आयोजनाअन्तर्गत सो बजेट विनियोजन भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको हो ।

बैठकले धनगढी विमानस्थलका लागि १ अर्ब रकम विनियोजन गरेको छ । यस्तै दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख बजेट विनियोजन गरेको छ । डोटी विमानस्थल, साँफेबगर विमानस्थल, कमलबजार विमानस्थल, महेन्द्रनगर विमानस्थल, बाजुरा विमानस्थल र डडेल्धुरा विमानस्थलका लागि पनि बजेट विनियोजन भएको छ ।
बैतडी जिल्लाको पाटनमा रहेको विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको छ । विमानस्थल कालोपत्रे गर्नका लागि विसं २०७३ सालमा ११ करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटले कालोपत्रे गरी पुनः सञ्चालनमा आएको हो ।

हाल साताको एक दिन शुक्रबार पाटन– धनगढी नियमित उडान हुने गरेको छ । पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरू भएर २०३५ सालदेखि हवाई सेवा शुरू भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यति बेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।

विमानस्थलको धावनमार्ग निर्माण भए पनि टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण भने शुरू नै भएको छैन ।

प्रतिक्रिया दिनुहोस्