एकद्धार सङ्कट व्यवस्थापन सम्बन्धी सरोकारवालासँग अभिमुखीकरण



जाजरकोट ।

जाजरकोटमा एकद्धार सङ्कट व्यवस्थापन सम्बन्धी सरकोरावालाहरु सँग एक दिने जिल्ला स्तरीय अभिमुखीकरण तालिम सम्पन्न भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग, स्वास्थ्य सेवा कार्यालय जाजरकोटको सहकार्य तथा किर्डाक नेपालको आयोजनामा आइतबार सदरमुकाम खलंगामा उक्त तालिम सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोको अध्यक्षतामा भएको अभिमुखीकरण तालिममा अधिवक्ता छविराज शर्माले लौंगिक हिंसा र न्यायमा पहुँच समानताका बारेमा जानकारी गराउनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा अन्यायमा पर्नुको कारण घरेलु हिंसा, घरेलु हिंसाका स्वरूप, मानसिक शारीरिक यातना, यौनजन्य यातना, आर्थिक यातना, घरेलु हिंसा भए के गर्ने ? उजुरी सजाय मानव बेचबिखन तथा ओसार पसार जबरजस्ती करणी, बालविवाह सम्बन्धी कानुनी सजाय, बहुविवाह लगायतका हिंसा र दण्ड सजायका बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।

जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर औसर सिंह राठौरले एकद्धार सङ्कट व्यवस्थापनको लागी जिल्ला अस्पतालले गरेको भूमिका नेपालको कानुनले समावेश गरेका क्रियाकलापहरू प्रस्तुत गर्नु भएको थियो । हिंसा पीडित महिला बालबालिकाहरूलाई परामर्श गरेको बताउनु भयो । एकद्धार सङ्कट व्यवस्थापन समितिमा को को व्यक्ति लिने भन्ने विषयमासमेत छलफल भएको छ । त्यसबारे केही दिनमै बसेर मूर्त रूप दिने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी देवकोटाले एकद्धार सङ्कट व्यवस्थापनको लागी सरोकारवाला निकायले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । व्यवस्था परिवर्तन भएसँगै नागरिकको अवस्था परिवर्तन गर्न सरकारी कार्यालयले चुस्त दुरुस्त सेवा प्रवाह गर्न आग्रह गर्नु भयो । आफन्त नभएका पीडित महिला बालबालिका कानुनी परामर्श लिन आए उनीहरूलाई आवासको व्यवस्था मिलाउन सबै लाग्नु पर्ने, उनीहरूलाई छिटोछरितो सेवाको व्यवस्था मिलाउनु पर्ने, घरेलु हिंसा, बाल हिंसा जवरजस्ती करणी लगायत समाजलाई नकारात्मक असर गर्ने कार्यलाई जनचेतनामूलक कार्यक्रमका माध्यमाबाट जानकारी गराउनु पर्ने उहाँले बताउनु भयो ।

कार्यक्रम महत्त्वपूर्ण भएकोले विद्यालय, गाउँ समाजमा व्यापक बनाएर लिनु पर्ने उहाँले बताउनु भयो । पीडित नागरिकलाई एकद्धार प्रणालीबाट सेवा उपलब्ध गराउन सरोकारवालाहरूलाई उत्तरदायी  भएर सङ्कट व्यवस्थापन गर्न पहल गरिएको कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजजिकरण किर्डाक नेपालका अनुगमन मुल्याङ्कन अधिकृत किरण पौडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्