सुरक्षा अधिकारीद्वारा सीमाको स्थलगत अध्ययन



बाँके ।

नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षाकर्मी बीचको इन्डो–नेपाल समन्वय बैठकलगत्तै बाँकेका सुरक्षा अधिकारीले सीमावर्ती क्षेत्रको स्थलगत अवस्था अध्ययन गरेका छन् । दोस्रो बैठकमा सीमाको अवस्थाबारेमा छलफल गर्ने तयारी स्वरूप प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख (एसपी) श्यामकृष्ण अधिकारीको टोलीले बाँकेको पूर्वी सीमा सुइया, घोडदौडियालगायतको क्षेत्रको वस्तुस्थिति बुझेका हुन् ।

‘काउन्टरपार्टको हाम्रो अर्को बैठक भारतमा हुँदै छ । त्यहाँ सीमाको सुरक्षाका अवस्थाबारेमा हामीले एजेन्डा प्रस्तुत गर्दै छौं । त्यही तयारी स्वरूप बाँकेको विभिन्न सीमावर्ती क्षेत्रको अवस्था अध्ययन गर्ने क्रम शुरु भएको छ’, प्रजिअ खत्रीले भन्नुभयो– ‘सीमाको पछिल्लो अवस्था बुझेर बैठकमा जान्छौं ।’ बाँकेको ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । अढाइ किलोमिटरको दुरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पोस्ट राखेको छ भने पाँच किलोमिटर आसपासमा नेपालको सशस्त्र प्रहरीले पोस्ट राखेको छ ।

सीमामा सुरक्षाकर्मीको बसोबास र व्यवहार, जनताको पीरमर्का सुन्न प्रमुख जिल्ला अधिकारी खत्री नाकामा पुगेका छन् । यसअघि बुधबार नेपालगन्जमा नेपालको पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका प्रहरी प्रशासनका अधिकारी र भारतको महाराजगन्ज, बहराइच, श्रावस्ती, लखिमपुर, पिलिभित, सिद्धार्थनगर र बलरामपुर जिल्लाका डिस्ट्रिक मेजेस्टेड (डीएम) र भारतीय सीमा सुरक्षा बलसँगै प्रहरी प्रमुखको उपस्थितिमा सुरक्षा बैठक भएको थियो ।

बैठकमा भारतीय पक्षले त्यहाँको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा सजकता अपनाइदिन आग्रह गरेका थिए । नेपाली टोलीले पनि भारतीय निर्वाचनलाई ध्यान दिँदै सीमा क्षेत्रमा निगरानी बढाउन थालेका छन् । बैठकमा लागूऔषधको कारोबार, नेपाल र भारतमा अपराध गरेर एक–अर्को देशमा लुकेर बसेका व्यक्तिलाई पक्राउ गरेर दिने विषय, मानव बेचविखन रोकथाम, तश्करीलगायतका विषयमा छलफल भएको थियो । नेपालका आठ जिल्ला र भारतका सात जिल्लाका उच्च सुरक्षा अधिकारीको बैठक भएको यो पहिलोपटक हो । यसअघि भएका यस्ता समन्वय बैठकमा तीन–तीन जिल्लाका अधिकारीका बीचमा हुने गर्दथ्यो ।

‘भारतले चुनावको बेलामा सजकता अपनाइदिन आग्रह गरेकाले हामीले सीमामा निगरानी बढाएका छौं ।’ –प्रहरी प्रमुख अधिकारीले भन्नुभयो । प्रशासन र प्रहरीले सीमामा पुगेर सीमाक्षेत्रका स्थानीयसँग भेटेर उनीहरुको समस्या पनि बुझेका छन् । अर्को बैठकमा उनीहरुले जनताका समस्याका बारेमा पनि प्रस्तुत गर्ने बताएका छन् ।
सीमा नाकाहरुको आवत–जावत, पिलरको अवस्था पनि अधिकारीहरुले हेरेका छन् । बाँकेका कतिपय छोटी नाकामा एसएसबीको उपस्थिति देखिन्छ भने नेपाली सुरक्षा अधिकारीको उपस्थिति देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्