प्रदेश–२ को नामकरणका लागि चार प्रस्ताव पेस

0
Shares

जनकपुरधाम, (नेस) ।

प्रदेश–२ को प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि पाँचवटा प्रस्ताव पेस भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेस प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेस भएको हो ।

मधेस प्रदेश प्रस्ताव सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट पेस गरिएको हो भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसलाई समर्थन गरेको छ । त्यस्तै, अर्को सत्तारूढ दल नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम जानकी प्रदेश प्रस्ताव गरिएको छ । कांग्रेसले मिथिला भोजपुरा नामक प्रस्ताव पेस गरेको छ भने कांग्रेसकै प्रदेशसभा सदस्यले मध्यमधेश प्रदेश प्रस्ताव गरेको हो ।

जसपाको तर्फबाट शैलेन्द्रकुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरतप्रसाद साह, नेकपा (एस)को तर्फबाट प्रमोदकुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेस गरेका हुन् भने कांग्रेसकै राजेश्वरप्रसाद शाले मध्यमधेस प्रदेश नामको प्रस्ताव पेस गरेका हुन् । नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामकरणको प्रस्ताव भने बिहीबार पेस हुन सकेन ।

सभामुख सरोज यादवले शारदा थापाले नामकरण सम्बन्धमा पेस गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो ।