अस्पतालले पाएन कोराना उपचारबापतको खर्च



लमजुङ ।

लमजुङ सदमुकाम बेंसीशहरमा रहेको जिल्ला अस्पताल लमजुङले कोरोना भाइरसका संक्रमितको उपचार गरेको खर्च अझै पाएको छैन । सरकारले दिने भनेको उपचार गरेबापतको १ करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको अस्पतालले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमण देखिएदेखि चालू आर्थिक वर्षको पहिलो चौमासिक अर्थात् कात्तिक मसान्तसम्म कुल ५ सय ६ जना कोरोना संक्रमितको उपचार गरेबापतको रकम प्राप्त नभएकाले अस्पताल सञ्चालनमा समेत बाधा परेको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार २ हजार ६ सय ८२ जनाका अस्पतालले पाउनुपर्ने बीमा रकम कुल ४१ लाख ७ हजार ७ सय ५७ रुपियाँ पाउन बाँकी रहेको छ । यसै गरी कोरोनाको पहिलोे अवधिको ७३ लाख रुपैयाँ पनि आएको छैन । दोस्रो अवधिको ४६ लाख दाबी गरेकोमा ४५ लाख ६ हजारमात्र प्राप्त भएको श्रेष्ठको भनाइ छ ।

जिल्ला अस्पतालले कोरोना पहिलो अवधिमा २ सय ६२, दोस्रो अवधिमा गत असार मसान्तसम्म ५ सय ५४ जना र त्यसयता हालसम्म ६५ जनाको उपचार गरिएको जनाएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ६५ जनाको उपचार भएको छ । गत आर्थिक वर्षमा ४ सय ४१ जना कोरोना संक्रमितको उपचार भएको अस्पतालले जनाएको छ । गत वर्ष र चालू आर्थिक वर्षको दुवै चरणमा उपचार गराएका संक्रमितहरुको कुल रकम १ करोड ३३ लाख २१ हजार रुपिया पुगेको अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो ।
सरकारले कोभिड संक्रमितको उपचार खर्च उपलब्ध गराउने गरी अस्पतालसँग सम्झौता गरेको थियो’, जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठ भननुहुन्छ– ‘तर, हालसम्म सम्झौताबापतको रकम प्राप्त भएको छैन ।’

कोरोना संक्रमितहरुको उपचार व्यवस्थापनमा लाग्ने खर्चमा सामान्य उपचारका लागि दैनिक ३ हजार ५ सय, मध्यम उपचारका निम्ति ७ हजार र गम्भीर उपचारका निम्ति दैनिक १५ हजार रुपियाँ उपलब्ध गराउने उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्