पाल्पा, (नेस) ।
पाल्पामा हालसम्म २७१ मानिसको कोरोनाका कारण मृत्यु भएको र राहतका लागि २१८ जनाको सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लास्थित विपद् व्यवस्थापन समिति पाल्पाको बैठकमा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले कोरोनाबाट हालसम्म पाल्पामा ६२ जनाका लागि लुम्बिनी प्रदेश सरकारबाट राहत आएको जानकारी दिनुभयो । कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाखका दरले ६२ जनालाई राहत आएको र हालसम्म ५६ जनाले राहत पाइसकेको प्रजिअ पन्तले बताउनुभयो । राहत आएकामध्ये ६ जनाको परिवार भने हालसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।
प्रजिअ पन्तले एन्टिजेन परीक्षणमा कोरोना संक्रमित भई मृत्यु भएका मानिसका परिवारले पनि राहत पाउने निर्णय भएको बताउनुभयो । यसअघि एन्टिजेन परीक्षणमा कोरोना संक्रमित भएर मृत्यु भएका परिवारले राहत पाएका थिएनन् । विगत समयमा बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पूर्वाधार मर्मतसम्भारका लागि ५ वटा क्षतिग्रस्त सडक तथा पुल मर्मत गर्न सिफारिस गरेको छ ।
बैठकले गत असोज महिनामा परेको बेमौसमी वर्षातबाट धानबालीमा पुगेको क्षतिको तथ्यांक र सरकारले राहत तथा क्षतिपूर्तिका लागि बनाएको मापदण्डअनुसार संघीय सरकारसँग सिफारिस गरेको छ ।
विगतको बाढी पहिरोबाट क्षति पुगेका सडक तथा पूर्वाधार मर्मतका लागि ५ वटा सडक पूर्वाधार योजना विपद् व्यवस्थापन समितिको बैठकले सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयबाट प्राकृतिक विपद्बाट क्षतिग्रस्त ५ वटा पूर्वाधारलाई मर्मत गर्न सिफारिस गर्न अनुरोध भई आएकोमा विपद् व्यवस्थापन समितिको बैठकले सोहीअनुसार निर्णय गरेको हो । बैठकले आर्यभाङज्याङ् रामपुर सडक, हार्थोक छहरा सडक, ताहुँ ओमभाङज्याङ सडक, तानसेन रानीमहल सडक र डुम्रेको कल्भर्ट मर्मतसम्भारका लागि सिफारिस गरेको छ ।
यस्तै, बैठकले गत असोज महिनामा परेको बेमौसमी वर्षाका कारण धानबालीमा पुर्याएको क्षतिअनुसार किसानलाई राहत दिनका लागि सरकारसँग सिफारिस गरेको छ ।











प्रतिक्रिया