३३ हजार विद्यार्थीलाई मोडना खोप लगाइँदै



गुल्मी ।

गुल्मी जिल्लामा विद्यार्थीलाई कोरोना कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ९३ वडामा रहेका विद्यालमा १२ देखि १७ वर्ष उमेर समूहका ३३ हजार विद्यार्थीलाई खोप लगाउन थालिएको हो ।

जिल्लास्थित १२ वटा स्थानीय तहको समन्वयमा तोकिएको खोप केन्द्रमा लक्षित उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडना खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले बताउनुभयो । जिल्लामा हाल ३० हजार डोज खोप आएको उहाँको भनाइ छ ।

कोरोनाविरुद्धको खोप लगाउन पाउँदा विद्यार्थी पनि उत्साहित भएका छन् । खोप लगाएपछि पठनपाठनमा सहज हुने विद्यार्थीको भनाइ छ । बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप पुस ८ गतेसम्म दिइने भएको छ । पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइनेछ । जिल्ला सदरमुकाम रहेको रेसुंगा नगरपालिकाकाले बजारभित्रका विद्यालयलाई हाट बजारको भवनमा खोप लगाउने व्यवस्था मिलाएको रेसुंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताउनुभयो ।

बजारबाहिरका विद्यालयमा भने पायक पर्ने खोप केन्द्रबाट खोप दिने व्यवस्था मिलाइएको छ । जिल्लामा हालसम्म विभिन्न चरणमा पहिलो मात्राको खोप लाउने संख्या १ लाख ३५ हजार ६ सय ४६ रहेको छ । दोस्रो मात्राको खोप लगाउनेको संख्या ६२ हजार ४ सय २१ रहेको छ । हाल जिल्लामा ८९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्