फलेवासमा ९ वडामा नयाँ कार्यालय भवन

0
Shares

पर्वत (नेस) ।

पर्वतमा कतिपय पालिकाका प्रशासनिक भवनदेखि वडा कार्यालयका भवन भाडाका घरमा छन् । तर, जिल्लाको फलेवास नगरपालिकाले भने ११ वडामध्ये ९ वटा वडाको भवन नयाँ बनाइ सकेको छ ।

बाँकीदुई वडाको भवन निर्माणका लागि जग्गा व्यवस्थापनको कामभइरहेको छ । ग्रामीण क्षेत्रमा रहेको यो नगरपालिका स्थापना हुँदा कार्यपालिका भवन र वडा कार्यालयहरू अधिकांश भाडा र केही जीर्ण भवनमा सञ्चालित थिए । तर, अहिले सबैजसो कार्यालय सरकारी संरचनाबाटै सञ्चालनमा आएको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो ।

आफ्नो कार्याकालमा प्रमुख प्रशासकीय भवन र वडा कार्यालय आफ्नै भवनमा सञ्चालन गर्ने लक्ष्य अनुसार अब दुई ओटा वडा कार्यालयको भवन शिलान्यास गर्न बाँकी रहेको उहाँले बताउनुभयो । स्थापना पछि दुई वर्ष भाडाको घरमा र दुई वर्ष फलेवास सिँचाइ आयोजनाको कार्यालय बाट सञ्चालित प्रमुख प्रशासकीय भवन समेत गत महिना देखि निर्माण शुरू गरिएको छ । भवन १८ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

नगरपालिकाको वडा नं ९ भंगराको नवनिर्मित वडा कार्यालय भवन हालै सम्पन्न भएको छ । यससँगै वडा नं १, ४ र ६ को भवनबाट कार्यालय सञ्चालन भइरहेको छ । यस्तै वडा नं २, ३, ८, १० र ११ को कार्यालय भवन निर्माणाधीन रहेका छन् । चालू आव भित्रै निर्माण सम्पन्न हुने नगर प्रमुख शर्माले जानकारी दिनुभयो ।

साँघुरो र भाडामा सञ्चालन हुँदै आएका वडा कार्यालयका आफ्नै भवन गुणस्तरिय भवननिर्माण भएपछि नागरिकलाई सेवा प्रवाहमा सहजहुने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बताए । सबै जसो कार्यालय समयमै निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच, निर्माण सम्पन्न भएको भंगराको कार्यालय नगर प्रमुख शर्माले उद्घाटन गर्नु भएको छ । २०७७ पुस देखि शुरू गरिएको भवन निर्माण कार्य हालै सम्पन्न भएको थियो ।