डोटीमा दश हजार बढीले पाए खोप



डोटी, (नेस) ।

डोटीमा धमाधमरूपमा कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । हालसम्म कम्तीमा पनि १० हजार ५ सय ४४ जनालाई कोरोना भाइरसविरुद्वको खोप लगाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा जिल्ला अस्पतालबाट उपलब्ध कोरोनाविरुद्धको खोप लगाइएको हो ।

स्वास्थ्य कार्यालयले उक्त खोप लगाउने अभियान गएको फागुन महिनाबाट सञ्चालन गरिरहेको छ । खोप ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लगाउन थालिएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मी निरु मगरका अनुसार दिपायल सिलगढी नगरपालिकामा दुई हजार ३ जना, शिखर नगरपालिकामा एक हजार ७१७, पूर्वीचौकी गाउँपालिकामा एक हजार १००, आदर्श गाउँपालिकामा एक हजार २६२, सायल गाउँपालिकामा ८९९, केआईसिंह गाउँपालिकामा ९३६, बोगटान फुडसिल गाउँपालिकामा ९०१, बडिकेदार गाउँपालिकामा ७३३ तथा जोरायल गाउँपालिकामा ९९३ गरीजिल्लाभरमा कुल दश हजार ५४४ जनाले उक्त खोप लगाएका छन् ।

यहाँका नौवटै स्थानीय तहमा कुल १२ हजार ६०० जना ६५ वर्षभन्दा माथिको उमेर समूहका नागरिक रहेका र बाँकी रहेका अन्य नागरिकलाई क्रमिक रूपमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । पहिलो चरणमा नागरिकहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी, वित्तीय संस्थाका प्रमुख, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायतलाई देशव्यापी रूपमा कोरोनाविरुद्धको खोप लगाएको भए पनि अहिले सबै नागरिकलाई खोप लगाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्