विद्यालयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन

0
Shares

बैतडी, (नेस) ।

जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्दै छ । निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार मङ्सिर २७ गते जिल्लाको पुर्चौडी नगरपालिकामा रहेको डिलेश्वरी माविबाट शुरू भएको र प्रत्येक स्थानीय तहको एक विद्यालय छनोट गरेर अन्य सबै पालिकामा पनि उक्त कार्यक्रम सञ्चालन हुनेछ । उहाँले भन्नुभयो– ‘कार्यक्रम सञ्चालन हुने विद्यालय छनोटसँगै कार्यक्रम पनि सञ्चालनको तयारीमा छौं । असअघि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको नयाँ सरकारी सामुदायिक विद्यालय छनोट गर्छौं ।’

माविस्तरका विद्यालय कार्यक्रम सञ्चालन भइरहेको र कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई मतदाता शिक्षा दिइरहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावमा मत बदर नहोस् भन्नका लागि र विद्यार्थीमार्फत अभिभावकलाई मतदान गर्ने सही तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

एक विद्यालयका कम्तिमा १ सय ५० विद्यार्थी सहभागी गर्ने योजना रहेको छ । निर्वाचन आयोगको वार्षिक कार्यक्रमअनुसार नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो । गत वर्ष जिल्लाका आठ विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । बैतडीमा हाल १ लाख ४८ हजार बढी मतदाता रहेका छन् । यसका साथै हाल पालिकास्तरबाटै फोटोसहितको मतदाता नामावती संकलन विषेश कार्यक्रम पनि सञ्चालन भएको छ ।