सेनाको स्वास्थ्य शिविरमा डेढ सयले लिए सेवा



बैतडी ।

नेपाली सेनाले गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब डेढ सय नागरिकले सेवा लिएका छन् । स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको समन्वयमा हनुमानध्वज गुल्मले तामिल केन्द्र दशरथचन्द नगरपालिका–२ देहिमाडौंमा दुई दिनसम्म शिविरको आयोजना गरेको थियो ।

सैनिक–नागरिक सम्बन्ध विस्तार गरी राष्ट्रिय एकता बढाउन स्वास्थ्य शिविरको आयोजना गरेको हो । स्वास्थ्य शिविरबाट १ सय ४६ जना नागरिक लाभान्वित भएका हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले बताउनुभयो । यसका साथै तालिममा सहभागी ४० जना सेनाका कर्मचारीको पनि स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा आर्थिक अभाव तथा अशक्तताका कारण जिल्ला अस्पताल जान नसकेका जेष्ठ नागरिक तथा अन्य बिरामी र बहालवाला सैनिकको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ । ‘नागरिक र सेनाको सम्बन्ध विस्तार गर्न स्वास्थ्य शिविरको आयोजना गरेका छौं’, सेनानी रानाले भन्नुभयो– ‘स्वास्थ्य शिविरका साथै अन्य समयमा पनि सामाजिक कार्यमा संलग्न हुँदै हामी आएका छौं । यसले नागरिक र सेनाको सम्बन्ध निकट हुन जाने विश्वास छ ।’

स्वास्थ्य कार्यालयले राष्ट्रसेवक कर्मचारी नियमित स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत गुल्मसँग सहकार्य गरेर नागरिकको घरदैलोमै गएर शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सेनाको प्रस्तावमा हामीले राष्ट्रसेवक कर्मचारी नियमित स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सर्वसाधारण नागरिकको पनि स्वास्थ्य जाँच गरी औषधि वितरण गर्न शिविर सञ्चालन गरेका हौं ।’

शिविरले आर्थिक अवस्था कमजोर भई जिल्ला अस्पतालसमेत जान नसकेका नागरिकलाई सहयोग पुगेको छ । सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट गाउँमै डाक्टरको सल्लाह र चेकजाँच गर्न पाउँदा खुसी लागेको स्थानीय विष्णुदत्त भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्