सरकारी कार्यालयमा छड्के, कार्यालय प्रमुख नै अनुपस्थित



विनोदसिंह विष्ट, बैतडी ।

जिल्ला प्रशासन कार्यालय बैतडीले गरेको सरकारी कार्यालयको छड्के अनुगमनमा दुई कार्यालयका प्रमुखसमेत अनुपस्थित रहेका पाइएको छ । कार्यालयले कृषि ज्ञान केन्द्र, शहरी विकास तथा भवन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नेपाल टेलिकममा अनुगमन अनुगमन गरेको थियो ।

मंगलबारको अनुगमनका क्रममा कृषि ज्ञान केन्द्र र शहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरु अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

‘छड्के अनुगमन गर्दा कार्यालय प्रमुखहरु नै बिनाजानकारी अनुपस्थित रहेको देखियो, उनीहरुलाई पहिलो चरणमा स्पष्टीकरण सोध्छौं, चित्तबुझ्दो स्पष्टीकरण नआए कानुनी कारबाही हुन्छ ।’ –उहाँले भन्नुभयो । जिल्लास्थित सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन छड्के अनुगमन गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयको नेतृत्वमा सरकारी कार्यालयहरुमा छड्के अनुगमन शुरु गरिएको हो । यसअघि सोमबारदेखि शुरु भएको अनुगमनअन्तर्गत ६ वटा कार्यालयमा अनुगमन गरिएको छ । सोमबार जिल्ला हुलाक कार्यालय, जिल्ला मालपोत कार्यालय र नापी कार्यालयमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालयमा दुई जना र जिल्ला मालपोत कार्यालयका एक कर्मचारी बिनाजानकारी अनुपस्थित भएको पाइएको थियो । उनीहरुलाई पनि स्पष्टीकरण सोधिएको भारतीको भनाइ छ । सार्वजनिक सेवालाई प्रभावकारी, जवाफदेही र जनमुखी बनाउन अनुगमन शुरु गरिएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्