चिसो बढेपछि उपल्लो मुस्ताङका दुई प्रहरी चौकी गाभिए



प्रताप बानियाँ, म्याग्दी । 

चिसो बढेपछि हिमालपारिको जिल्ला मुस्ताङको दुई वटा प्रहरी चौकी लोमान्थाङमा गाभिएका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाअन्तर्गत छोन्हुप र छोसेर वडामा रहेका प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालय लोमान्थाङमा गाभिएको हो ।

जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार दुई वटा प्रहरी चौकीलाई लोमान्थाङमा गाभिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । लोमान्थाङदेखि माथिल्लो क्षेत्रमा अत्यधिक चिसो बढेपछि स्थानीयवासी नभएको, विद्युत् सेवा नहुनु र पर्याप्त भौतिक पूर्वाधारको अभावले प्रहरी चौकी गाभिएको छ ।

मंसिरको दोस्रो सातादेखि आगामी तीन महिनाका लागि छोन्हुप र छोसेरमा रहेका प्रहरी चौकीलाई लोमान्थाङमा अस्थायी रूपमा गाभिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकुमार दानीले जानकारी दिनुभयो । उहाँका अनुसार ती दुवै प्रहरी चौकीमा पाँच जनाको दरले १० जना प्रहरीको जनशक्ति रहेको थियो । अब ती प्रहरी चौकी फागुनको अन्तिमतिर मात्रै पुनः वडामा फर्किने छन् ।


अहिले छोन्हुप र छोसेर वडामा केही भेडीगोठ, भेडा–गोठाला, घर कुरुवा र बुढाबुढी मात्रै रहेको डिएसपी दानीले बताउनुभयो । मुस्ताङ–तिब्बत कोरला नाकाबाट बहने चिसो सिरेटो र अत्यधिक चिसोका कारणले दुई वडाका अधिकांश स्थानीय वासिन्दा चिसो छल्नका लागि बेंसीतर्फ झरेका छन् । हाल इलाका प्रहरी कार्यालय लोमान्थाङबाटै समय समयमा प्रहरीको टोलीले छोन्हुप र छोसेरलगायत क्षेत्रमा पुगेर गस्ती गर्ने गरेको छ ।

प्रत्येक वर्ष चिसो मौसममा माथिल्लो भेगमा बस्न नसकिने हुँदा प्रहरी चौकी तल सार्ने गरिन्छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको मातहतमा रहने १९ युनिटमध्ये अहिले माथिल्लो भेगमा २ वटा प्रहरी चौकी छन् । छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको सीमावर्ती क्षेत्र मुस्ताङ–तिब्बत कोरला नाका नजिकका क्षेत्रमा चिसो मौसममा तापक्रम घटेर माइनस २० डिग्री सेल्सियससम्म पुग्ने गर्दछ ।

अत्यधिक चिसोका कारणले गर्दा बिहान र बेलुकीपख सो स्थानमा अधिक चिसो सिरेटो चलेर बस्नै नसक्ने अवस्था हुने भएकाले प्रहरी चौकी सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । चिसोकै कारण ती क्षेत्रमा प्रहरीले प्रयोग गर्ने सञ्चार सेटले समेत राम्रोसँग काम नगर्ने हुँदा यो समयमा तल सार्नुपर्ने बाध्यात्मक अवस्था आउने गर्दछ ।
उपल्लो मुस्ताङका स्थानीय वासिन्दाहरु चिसो छल्नका लागि बेसी झरिसकेको र विद्यालयहरू पनि पोखरामा घुम्ती विद्यालयका रूपमा सारेर पठनपाठन सुरु भैसकेको हुँदा प्रहरी चौकी पनि सारिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्