बैतडीमा २ हजार ८ सय मतदाता थपिए



बैतडी ।

स्थानीय तहका केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत बैतडीमा थप २ हजार ८ सय बढी मतदाता थपिएका छन् ।

उक्त कार्यक्रम अन्र्तगत पहिलो चरणमा मंसिर १७ देखि २६ गतेसम्म सञ्चालन भएकोमा २ हजार ८ सय ३० मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयालले जानकारी दिनुभयो । पहिलो चरणमा सञ्चालन भएको पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी पुर्चौडी नगरपालिकामा १ हजार २ सय ३८ जनाले नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।

यस्तै, मेलौली नगरपालिकामा ५ सय १४, डिलाशैनी गाउँपालिकामा २ सय ५६, सिगास गाउँपालिकामा २ सय ८८ र पञ्चेश्वर गाउँपालिकामा १ सय १६ जना नयाँ मतदाता थपिएका छन् । यसका साथै दशरथचन्द नगरपालिकाअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा २ सय १८ जनाले आफ्नो नाम दर्ता गराएका छन् ।

आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर शुरु भएको उक्त कार्यक्रम दुई चरणका सञ्चालन गर्ने कार्यतालिका अनुसार दोस्रो चरणमा आजदेखि दोगडाकेदार, सुर्नया, शिवनाथ गाउँपालिका र पाटन नगरपालिकामा सञ्चालन भएको छ ।

प्रत्येक पालिकामा १० दिन (पुस ८ गते) सम्म सञ्चालन हुने र बिदाको दिनसमेत जारी रहने जनाइएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नियमित रूपमा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको छ । नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ । सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एक जना कर्मचारी खटाइएका हुन् ।
स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् ।

फोटोसहितको मतदाता नामावली संकलनका लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्ने छ । बैतडीमा हालसम्म १ लाख ४८ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्र समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्