अख्तियारद्वारा यादव र गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं, (नेस) ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको तत्कालीन नमुना गाउँ विकास समितिको कार्यालयमा कार्यरत सचिव नागेश्वर राय यादवविरुद्ध कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, गाविसको विभिन्न शीर्षकको रकम दुरुपयोग गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन जिल्ला विकास समितिको कार्यालय, जलेश्वर, महोत्तरीबाट आर्थिक वर्ष २०६७/०६८ मा असहाय विधवा, अशक्त अपांग, दलित जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताका लागि रकम निकासा गरेकोमा तत्कालीन गाविस सचिव यादवले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने सम्बन्धित ज्येष्ठ नागरिक, असहाय विधवा, असक्त अपांग, दलित जेष्ठ नागरिकलाई वितरण नगरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाइ बनाई उक्त भरपाइमा बुझिलिनेको सहीछाप महलमा आफैंले र अरू व्यक्तिलाई हस्ताक्षर गर्न लगाएर १२ लाख ८६ हजार ८ सय रुपियाँ हिनामिना गरेको अभियोग लगाएको छ ।

त्यसै गरी, अवकाश प्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरेको अभियोगमा आयोगले विद्युत् प्राधिकरण, बितरण तथा ग्राहक सेवा निर्देशनालय लाहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आरोपी गुप्ताले मिटर रिडर पदमा कार्यरत धनपति ठाकुर, हेल्पर सत्य नारायण साहले अनिवार्य अवकाश पाएपछि बिमाबापत पाउने रकम कीर्ते गरेर ठगी गरेको अभियोगमा आयोगले ९ लाख ३१ हजार ३ सय ६० रुपियाँ ठगी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्