सिर्जनशील पत्रकारिता पुरस्कार गौतमलाई

0
Shares

बागलुङ ।

सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारण सभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक तथा नेपाल समाचारपत्र दैनिकका बागलुङ संवाददाता सिर्जना पन्त र पत्रकार सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजारसहित गौतमलाई सम्मान गरिएको हो ।

उक्त पुरस्कार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसीले गौतमलाई प्रदान गर्नुृभएको छ ।
गौतम नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्षसमेत हुनुहुन्छ । एक दशकदेखि म्याग्दीबाट पत्रकारितामा सक्रिय गौतमले परोपकारी पत्रकारितामा जोड दिँदै आउनुभएको छ । उहाँ न्यूज २४ र नागरिक दैनिकमा कार्यरत हुनुहुन्छ ।

धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार यसअघि सन्तोष थापा (पर्वत) दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी), राम थापा (बागलुङ), संगम घर्ति (बागलुङ) र सुन्दर कुमार थकाली (मुस्ताङ)लाई प्रदान गरिएको थियो ।

समाजमा विद्यमान भड्किलो विवाहका विरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशील विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्च कटाएर १ लाख आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गर्नुभएको थियो ।

उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आइएको छ । पुरस्कार ग्रहणपछि पत्रकार गौतमले पत्रकारिता क्षेलाई थप गतिशीलता दिन आफूलाई थप ऊर्जा प्राप्त भएको बताउनुभयो ।