फरक क्षमता भएकालाई घरमै नागरिकता



बैतडी, (नेस) ।

जिल्ला प्रशासन कार्यालय बैतडीले फरक क्षमता भएकी किशोरीलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाडौंकी १८ वर्षीया करिश्मा बोहरालाई घरमै पुगेर आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीकाअनुसार पूर्णरूपमा शारीरिक अपांगता भएकी करिश्मालाई जिल्ला प्रशासन पुग्न अप्ठ्यारो हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको हो । प्रशासनको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेपछि करिश्मा र उहाँका बुबा पूर्णबहादुर बोहरा खुसी भएका छन् । ‘प्रशासन जान किनै सकस थियो,घरमै पुगेर नागरिकता प्रदान गरिदिँदा निकै खुसी छौं ।’ –पूर्णबहादुरले भन्नुभयो । पूर्णरूपमा शारीरिक अपांगता भएकी करिश्माले घरबाटै कक्षा १२ उत्तीर्ण गरिसक्नुभएको छ । करिश्माको पढाइ र परीक्षासमेत घरमै गर्ने व्यवस्था गरिएको थियो ।

दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका पूर्णबहादुर बोहराका ४ जना छोराछोरीमध्ये तीनजना पूर्णरूपमा शारीरिक अपांगता भएका छन् । उनीहरुलाई शिक्षादीक्षा प्रदान गर्न अहिले बोहरा परिवारलाई निकै समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्