शून्य कार्बन उत्सर्जन र जलवायु वित्त



  • देवेन्द्र अर्याल ‘आँसु’

बेलायतको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ सम्मेलनमा सहभागी राष्ट्रहरुले जलवायु परिवर्तनको विषयलाई गम्भीरतापूर्वक उठाए । जसमा नेपालको तर्फबाट सहभागी प्रतिनिधिमण्डलले पनि आफ्नो धारणा राखेका थिए । उक्त सम्मेलनमा जलवायु परिवर्तनले पारेको असर र आगामी दिनमा यसले निम्त्याउन सक्ने समस्याका बारेमा बृहत् छलफल भएको छ भने जलवायु वित्त परिचालनमा पनि विलम्ब गर्नु नहुने धारणा जोडदाररुपमा उठाइएको थियो ।

विश्वको जलवायु परिवर्तन र बढ्दो वातावरण विनाशप्रति विश्व नै चिन्तित बनेको कुरा त्यहाँ सहभागीहरुको धारणाबाट पनि सहजै पुष्टि हुन्छ । उनीहरुले तत्कालै त्यसतर्फ सचेत हुनुपर्नेमा समेत जोड दिएका छन् । छिमेकी मुलुक भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरेको छ तर छिमेकी चीन सम्मेलनमा अनुपस्थित भएको छ । जलवायु परिवर्तनसम्बन्धी यो सम्मेलनमा चीनको अनुपस्थितिलाई अर्थपूर्णरुपमा हेरिएको पाइन्छ । अन्तर्राष्ट्रिय महत्वको यस सम्मेलनमा चीनको अनुपस्थितिमा केही राजनीतिक आभास पनि पाइन्छ ।

भारतको सन् २०७० सम्म शून्य प्रतिशतमा कार्बन उत्सर्जन झार्ने वचनबद्धतालाई सकारात्मक मान्न सकिन्छ भने चीनको अनुपस्थितिले विश्वव्यापी राजनीति झल्कन्छ । स्मरण रहोस्, यसअगाडिको विश्व जलवायु सम्मेलनमा अमेरिका अनुपस्थित भएको थियो, यसपटक चीन । यसपटकको जलवायु सम्मेलनलाई अमेरिकाले विशेष महत्व दिएको पाइन्छ । जबकि जलवायु कोषदेखि वित्त परिचालनमा पनि अमेरिकाले बढी चासो देखाएको छ । चीनको अनुपस्थितिलाई जलवायु परिवर्तनको सन्दर्भमा महत्वपूर्ण सवालका रुपमा लिइएको देखिन्छ ।

विश्वका अति गरिब राष्ट्रहरुले कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०२० देखि परिचालित हुनुपर्ने कोष हालसम्म सञ्चालन हुन सकेको छैन र अनुदान प्राप्त गर्नुपर्ने राष्ट्रले सो अनुदान सहजै प्राप्त गर्न सकिरहेका छैनन् । त्यसैले जलवायु वित्तको परिचालनमा सबै सहभागी राष्ट्रले जोडदाररुपमा आवाज उठाएका छन् ।

सन् २०२० देखि नै परिचालन हुने भनिएको १०० बिलियन डलर आजसम्म परिचालन हुन सकेको छैन । उक्त कोष परिचालन हुन नसक्नुको पछाडिको कारण पहिचान गरी चाँडै कार्यान्वयनमा जानुपर्ने कुरामा सबैको एकमत रहेको देखिन्छ । सम्मेलनमा जलवायु परिवर्तनका विभिन्न क्षेत्र र पेरिस एग्रिमेन्टलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि गम्भीर छलफल भएको छ ।

जलवायु परिवर्तनका कारण विश्वको वातावरण दिन–प्रतिदिन प्रतिकूल बन्दै ग्एको छ । विश्वको बढ्दो तापमानका कारण सबैलाई चिन्तित तुल्याएको छ । यही गतिमा मानवीय आविष्कार र प्रविधिको प्रयोग हुने हो भने सन् २०५० भित्र जलवायुमा व्यापक परिवर्तन देखिन्छ र मानव समुदायले विभिन्न महामारी तथा प्रकोपको सामना गर्नुपर्ने चिन्ता वातावरणविद्हरुले प्रकट गरेका छन् । जसका लागि विश्वव्यापीरुपमा शून्य कार्र्बन उत्सर्जनका लागि नयाँ प्रविधिको आविष्कार गर्नुपर्ने देखिन्छ । जसले वातावरणमा कार्बन उत्सर्जन कम गर्न सकोस् । के सौर्यशक्ति, वायुशक्तिले मात्र यसमा प्रभावकारी भूमिका खेल्ने हो त ? कार्बनबाट मुक्ति पाउनका लागि मानव समुदाय आफैँ सचेत रहनुपर्दैन र ?

बढ्दो कार्बन उत्सर्जनका कारण विश्वमा उष्णता बढ्दै गएको छ । एकातिर विकासका नाममा जङ्गल फडानी बढेको छ । अर्कोतिर पृथ्वीको तापमान बढेर हिमालको हिउँ पग्लिने क्रम रोकिएको छैन । सामुद्रिक देशका भूभाग जलसतहले पुरिँदै गएका छन् । जलजन्तुको संख्या पनि कम हुँदै गएको छ । मरुभूमीकरण बढ्दो छ । त्यसैले मानिसले स्वच्छ वातावरणका लागि पृथ्वीको समग्र वातावरणीय क्षेत्रको संरक्षणका निम्ति आजैबाट पहल गर्नुपर्दछ ।

जलवायु परिवर्तनसँग लड्नका लागि हामी सबै मानव समुदाय जिम्मेवार छौँ । विद्युत् उत्पादनबाट विश्वमा करिब २७ प्रतिशत कार्बन उत्सर्जन हुन्छ । कोलम्बिया विश्वविद्यालयको एक रिपोर्टअनुसार कार्बन नियन्त्रणका लागि ११५ मिलियन डलर खर्च बढाएर ३०० मिलियन डलर वृद्धि गर्नुपर्दछ । त्यसका लागि वातावरणमा कार्बन ग्यास मिल्नुपहिले नै त्यसलाई एकत्रित गर्नुपर्ने प्रविधिको विकास र विस्तार गर्नु अत्यावश्यक देखिन्छ । जलवायु परिवर्तनप्रति विकसित र सम्पन्न राष्ट्र चिन्तित देखिए पनि विश्वको वातावरण विनाशप्रति धनी र सम्पन्न राष्ट्र नै जिम्मेवार ठहरिन्छन् ।

धनी राष्ट्रहरुका कलकारखाना र आणविक भट्टीबाट निस्किएको कार्बन र मरुभूमिबाट उडेर गएको धूलोमिश्रित वायुका कारण हिमालय क्षेत्रको तापमान बढेको हो । त्यसैले हिमालमा हिउँ कम भएको र त्यहाँका पहाडहरु हिमविहीन बन्दै काला पहाड बन्न पुगेका हुन् । हामीले बढीभन्दा बढी कार्बन उत्पादन गर्ने सामग्री घरमा प्रयोग गरिरहेका छौँ । दैनिक उपभोग्य वस्तु, विद्युतीय सामग्री, सौन्दर्य प्रशाधनका साथै वनजङ्गल विनाश, अव्यवस्थित शहरीकरण, फोहोरमैलाको अवैज्ञानिक विसर्जन, बढ्दो जनसङ्ख्या, विभिन्न रासायनिक तथा जैविक हतियार र प्रविधिको प्रयोग एवम् परीक्षण आदिका कारण विश्वको वातावरण दिन–प्रतिदिन प्रतिकूल बन्दै गएको छ ।

त्यसैले मानिसको यात्रा अब वातावरण संरक्षणतर्फ केन्द्रित हुनु आवश्यक छ । मानिसको नयाँ यात्रा पुनः वातावरण विनाश र कार्बनको बढ्दो निष्कासनमा केन्द्रित भयो भने भोलिको पुस्तालाई बाँच्न धेरै सङ्घर्ष गर्नुपर्दछ । त्यसैले हामी सबैले आ–आफ्नो ठाउँबाट स्वच्छ वातावरण कायम राख्न जोडतोडले लाग्नुपर्ने देखिन्छ । कार्बन बढी उत्पादन गर्ने सवारीसाधनमा रोक लगाई विद्युत वा सौर्य ऊर्जाबाट सञ्चालित सवारीमा जोड दिनुपर्दछ । वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिएर जैविक खेतीमा केन्द्रित हुनु आजको आवश्यकता हो । त्यस्तै, वृक्षरोपण कार्यलाई प्रभावकारी बनाएर वातावरण संरक्षणका लागि विभिन्न खालका रणनीति र योजनाहरु तर्जुमा गर्नुपर्दछ अनि त्यसलाई जोडदाररुपमा कार्यान्वयन पनि गर्नुपर्दछ । त्यसो भएमा मात्र हाम्रो साझा घर पृथ्वीको वातावरण अनुकूल बन्नेछ ।
[email protected]

प्रतिक्रिया दिनुहोस्