न्यौपानेलाई कृषितारा पुरस्कार

0
Shares

काठमाडौं ।

यो वर्षको कृषितारा पुरस्कारबाट धादिङ धुनिबेशीका कृषक उद्धव प्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । नेपालस्थित इजरायली दूतावास र अवसर फाउन्डेसनले राजधानीमा आयोजना गरेको कार्यक्रमममा कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले नगद रु ५ लाख राशिको उक्त पुरस्कार कृषक न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो ।

यसअघि पहिलोपटक सोही पुरस्कार सुर्खेत जिल्ला कर्णाली प्रदेशस्थित गाइभैसी पालन फर्मका दीपेन्द्र कार्कीलाई प्रदान गरिएको थियो । इजरायलमा कृषिसम्बन्धी पछिल्लो प्रविधियुक्त तालिम लिई स्वदेश फर्केर कृषि व्यवसायमा लागेका किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१९ मा यो पुरस्कारको स्थापना गरिएको हो ।

कार्यक्रममा नेपालको कृषि विकासमा इजरायलले गरेको योगदानको प्रशंसा गर्दै मन्त्री यादवले इजरायलमा सिकेको आधुनिक प्रविधीयुक्त सीपले नेपाली किसानहरुलाई आत्म निर्भर हुन सहयोग पुर्याएको धारणा व्यक्त गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई आधुनिकरण गर्न आगामी दिनमा इजरायलसँगको सहकार्यलाई अझै व्यापक बनाइने बताउनुभयो ।

कार्यक्रममा इजरायली राजदूत हनान गोदारले नेपालको कृषि क्षेत्रको विकासका लागी इजरायलले सक्दो सहयोग गर्ने बताउँदै कृषि, किसान र खुशीको महोत्सव मनाउन पाउँदा निकै खुशी लागेको बताउनुभयो । सन् २०१२ यता ३ हजारभन्दा बढी नेपाली किसानहरुले इजरायलबाट कृषि तालिम प्राप्त गरिसकेका छन् ।