कांग्रेसको सह–महामन्त्रीमा मानबहादुरको दाबी


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्माको दाबी रहेको छ । सह–महामन्त्री पदका आठवटा कलस्टरमध्ये विश्वकर्माले दलित तर्फ दाबी रहेको हो । दुई दशकदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका विश्वकर्मा नेपाली कांग्रेसको ११औं, १२औं र १३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य थिए ।

त्यस्तै उनी पार्टीको भातृ संगठन नेपाल दलित संघको संस्थापक अध्यक्षसमेत हुन् । दुईपटक सांसद तथा पूर्ववातावरण, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका विश्वकर्मा पार्टीको नीति तथा प्रशिक्षण विभागको पूर्वप्रमुख पनि हुन् । त्यस्तै कांग्रेसको विधान समिति र संसदीय समितिसमेत रहिसकेका विश्वकर्मा पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुअघि त्रिभुवन विश्वविद्यालयमा दुई दशकसम्म प्राध्यापन गरेका थिए ।

लामो समयसम्म अमृत साइन्स क्याम्पसमा प्राध्यापन गरेका विश्वकर्मा मन्त्री हुँदा पनि प्राध्यापनलाई निरन्तरता दिई चर्चामा आएका थिए । काठमाडौं विश्वविद्यालयको स्थापना गर्न भूमिका खेलेका विश्वकर्मा नेपाल परिवार नियोजन संघको महासचिवसमेत रहेका थिए ।