ज्याकलिन फसादमा


बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई विदेश यात्रामा जान रोकिएको छ। अभिनेता सलमानको दबंग टुरका लागि साउदीको रियाद जाने तयारीमा रहेकी ज्याकलिनलाई मुम्बई विमानस्थलको अध्यागमन विभागले एयरपोर्टबाटै घर फर्काएको छ।

दुई सय करोड भारतीय रुपियाँको सम्पत्ति शुद्धीकरण आरोपमा मुद्दा खेपिरहेका भारतीय नागरिक सुकेश चन्द्रशेखरसँग ज्याकलिनले महँगो उपहार लिएको खुलेपछि ज्याकलिन पनि यस मामलामा मुछिएकी छिन्। छानबिनका क्रममा यस मामलामा ज्याकलिनको पनि संग्लनता रहेको प्रशस्त प्रमाण भेटिएकाले उनलाई विदेश जान रोक लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचारहरूमा ज्याकलिनको सुकेशसँग २०२१ को शुरुवातदेखि कुराकानी हुने गरेको र उनीहरू प्रेम सम्बन्धमा रहेको उल्लेख गरिए पनि प्रर्वतन निर्देशनालयले भने उनीहरूको सम्बन्धबारे भने केही नबताएको समाचारमा उल्लेख छ। ज्याकलिनका लागि सुकेशले पानी सरी पैसा बगाएको समाचारमा उल्लेख छ।

ज्यालिनले १० करोड भारतीय रुपियाँ बराबरको महँगो हीराजडित गहना सेट, चार फारसी बिरालो (प्रतिबिरालो नौ लाख भारु), माटोबाट बनेका महँगा भाँडाकुडाका सेट र ५२ करोड भारतीय रुपियाँ पर्ने घोडा उपहारको रुपमा लिएको अनुसन्धानबाट खुल्न आएको छ। सुकेशले ज्याकलिनका भाइबहिनीका साथै आफन्तलाई पनि मोटो रकम दिएको जनाइएको छ।

भारतको तिहाड जेलमा रहेका बेला सुकेशले एक व्यापारीको श्रीमतीबाट दुई सय करोड भारतीय रुपियाँ लिएको र यसमा सुकेशसहित उनकी मलायलम अभिनेत्री पत्नी लीना मारिया पाल र अन्य व्यक्तिको पनि संलग्नता रहेको उल्लेख गर्दै प्रवर्तन निर्देशनालयले दिल्लीको एक अदालतमा उनीहरूविरुद्ध आरोपपत्र पेस गरेको थियो।

समाचारअनुसार जेलमा रहेका बेला पनि ज्याकलिनसँग सुकेशको फोनमा कुराकानी हुने गरेको र वित्तीय लेनदेनको पनि सबुत मिलेको छ। केही समय अघिको जमानतपछि सुकेशले ज्याकलिनका लागि मुम्बईबाट दिल्ली र दिल्लीबाट चेन्नईको चार्टड फ्लाइट बुक गरेको तथा चेन्नईको एक होटलमा बसेको खुल्न आएको समाचारमा जनाइएको छ।

उक्त फ्लाइटका लागि सुकेशले आठ करोड भारतीय रुपियाँ खर्च गरेको भनिएको छ। सुकेशको वकिलले ज्याकलिनसँग सुकेशको प्रेम सम्बन्ध रहेको बताए पनि ज्याकलिनको प्रवक्ताले यो कुरामा सत्यता नभएको बताएका थिए। केही समयअघि सुकेशको गालामा चुम्बन गरिरहेको ज्याकिलन र सुकेशको एक तस्बिर बाहिरिएको थियो। तर, ज्याकलिनले भने यस विषयमा औपचारिकरूपमा मुख खोलेकी छैनन्।

आरोपपत्रमा अर्की अभिनेत्री नोरा फतेहीको पनि नाम बाहिर आएको छ। समाचारअनुसार सुकेशले नोरालाई करिब एक करोडरुपियाँ बराबरको बीएमडब्ल्यू कार र आईफोन उपहार दिएका थिए। तर, उनीहरूबीच कुनै व्यक्तिगत सम्बन्ध भने नरहेको बताइएको छ।