विक्कीका साथ कट्रिनाको बिहे भोलि वकिलले दिए उजुरी


जे–जस्तो हल्ला र प्रचार–प्रसार भए पनि अर्थात् यसअघि जो जससँग नाम जोडिए पनि बलिउड अभिनेत्री कट्रिना कैफ अन्ततः अभिनेता विक्की कौशलका साथ बिहे बन्धनमा बाँधिने भएकी छन्। भारतीय सञ्चार–माध्यमका अनुसार कट्रिना भोलि बिहीबार बिक्कीका साथ विवाह बन्धनमा बाँधिने भएकी छन्। मंगलबारबाट उनीहरूको विवाह समारोह माधोपुरको एक शाही होटलमा शुरू भएको छ।

भारतीय सञ्चार–माध्यमका अनुसार राजस्थानका नेत्रविन्द सिंह नामक वकिलले जिल्ला विधिक सेवा प्राधिकरणमा कट्रिना र विक्कीको विवाहविरुद्ध उजुरी दर्ता गराएका छन्। विवाहका लागि स्थानीय चौथ माताको मन्दिर जाने बाटो बन्द गरेको र त्यसका कारण हजारौं दर्शनार्थीलाई असुविधा हुने भन्दै उनले उजुरी दिएको समाचारमा जनाइएको छ।

कट्रिना र विक्कीको विवाहका लागि स्थानीय प्रशासनले आइबारदेखि एक हप्ताका लागि मन्दिरको बाटो बन्द गराएपछि वकिलले होटलका प्रबन्धक, कट्रिना, विक्की र सवाई माधोपुर जिल्लाका कलेक्टरमाथि उजुरी दर्ता गरेका हुन्। समाचारमा उल्लेख गरिएअनुसार विक्की हिन्दू तथा कट्रिना क्रिस्चियन भएकाले उनीहरूको विवाह हिन्दू र क्रिस्चियन दुवै परम्पराअनुसार सम्पन्न हुनेछ।

गोप्य तरिकाले हुने भनिएको उनीहरूको विवाहको सुरक्षाको जिम्मा भने अभिनेता तथा कट्रिनाको पूर्वप्रेमी सलमान खानका बडिगार्ड शेराले सञ्चालन गरेको सेक्युरिटी कम्पनीले लिएको छ। बलिउडका चर्चित व्यक्तित्वहरूको सहभागिता रहने विवाह समारोहको सुरक्षामा शेरालाई वारबडा पुलिसले पनि सहयोग गर्नेछ।

समाचारमा जनाइएअनुसार अभिनेता सलमान खान भने उक्त विवाहमा सहभागी हुने छैनन्। उनी रियादमा १० डिसेम्बरदेखि शुरू हुने द ब्याङ टुरमा सहभागी हुनका लागि बडिगार्ड शेराका साथ रियादमा रहनेछन्। बलिउडमा प्रवेश गरेसँगै कट्रिनाको नाम सलमानसँग जोडिन थालेको थियो। केही समय सलमानसँग प्रेम सम्बन्धमा रहेकी कट्रिना पछि अभिनेता रणविर कपुरसँग ६ वर्षसम्म प्रेम सम्बन्धमा रहेकी थिइन्। रणविरसँगको प्रेम सम्बन्ध पनि छुटेपछि कट्रिनाको प्रेम विक्कीसँग शुरू भएको थियो।